नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

दोश्रो ओखलढुङ्गा महोत्सव सुरु, उद्घाटनमा नेताहरुको जुहारी

ओखलढुङ्गान्युज, बैशाख ओखलढुङ्गामा बुधबारबाट दोश्रो ओखलढुङ्गा महोत्सव सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको खेल मैदानमा विशेष तथा भव्य कार्यक्रमका बिच बुधबारबाट महोत्सवको समुद्घाटन गरिएको हो ।

महोत्सवको संघिय माननिय एवम् राज्य ब्यबस्था तथा  सुशासन समितिका सभापति रामहरि खतिवडाले उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति खतिवडाले जिल्लाको विकास, समृद्धि तथा पर्यटन प्रबर्धनका लागि यो महोत्सवले सहयोग पु¥याउने बताए । महोत्सवले जिल्ला र यहाँ रहेका पर्यटकिय स्थलसँगै उत्पादनका कुरालाई देश विदेशमा चिनाउने अबसर भएको समेत उनले बताए ।

कार्यक्रममा सम्बोधनका क्रममा सभापति खतिवडाले विगतका बर्षहरुमा बजेट विना पनि योजनाको सिलान्यास हुनेगरेको भन्दै आफ्नो कार्यकालमा बजेट विनाका योजनाका सिलान्यास नगर्ने बताए । नयाँ सिलान्यास गरेर योजना अलपत्र पार्नु भन्दा सिलान्यास भएका र सम्पन्न हुन नसकेका योजनालाई पूर्णता दिने तर्फको आफुको ध्यान रहने सभापति खतिवडाको भनाई थियो ।

एक प्रसंगमा सभापति खतिवडाले किसानले गाई पालेर दुध दुने, दुध तताउने र सेलाएर ठेकीमा राखेपछि ढाडे विरालाले तरजति खाएर उल्टै गाई पाल्ने किसानलाई नै चिथोर्न खोज्ने प्रबृति देशमा हावि भएको भन्दै त्यसको अन्त्य हुनु पर्ने बताए । समानुपातिक निर्वाचन प्रणालीका कारण स्थायी सरकार बन्न नसकेको भन्दै त्यसको विकल्पमा आफुहरुले निर्वाचन आयुक्तसँग छलफल गर्ने बताउदै बर्तमान सरकारले देशलाई निकास दिन नसक्ने बताए ।

उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि संविधान सभा सदस्य माननिय यज्ञराज सुनुवारले आफु ओखलढुङ्गा जिल्लाको निर्वाचित प्रतिनिधी भएको बेला जिल्लामा पर्यटन प्रबर्धन गर्नुपर्छ भनेर दर्जनौ सानाठूला पर्यटन पूर्वाधार विकासको काम गरेको बताए । मेला महोत्सवलाई केबल रामाईलो र औपचारिकतामा सिमित गर्न नहुने सुनुवारको तर्क थियो । मेला तथा महोत्सबलाई जिल्लाको समृद्धिसँग जोड्नुपर्ने उनको भनाई थियो ।

सार्वजनिक कार्यक्रममा भेट भएपछि एक आपसमा भाषण मार्फत नै कटाक्ष गर्न र दोहोरी खेल्न सिपालु ओखलढुङ्गाका बर्तमान माननिय खतिवडा र पूर्व माननिय सुनुवारले यसपाली पनि बाँकी राखेनन् । जिल्लामा भएका विकास निर्माणको जस लिन दुबैको आ–आफ्नै प्रतिष्पर्धा थियो । सुनुवारले काम वेगरको सभापति बनेको र विकास निर्माणको सुरुवात आफ्नो पालमा भएको दावि गरे । तत्कालै खतिवडाले पनि सुनुवार एक कलाकार रहेको भन्दै आफू बजेट विनाका योजनाको सिलान्यास र उद्घाटन नगर्ने बताउन भ्याए । नेताहरुको दोहोरी चल्दा दर्शकहरुको उपस्थिती भने न्यून थियो ।

जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि दोस्रो ओखलढुङ्गा महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ । ओखलढुङ्गा उद्योग वाणिज्य संघले ५ वर्षअघि पहिलो ओखलढुङ्गा महोत्सव आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरुप यसपटक पनि दोश्रो महोत्सव आयोजना गरिएको हो । दोस्रो ओखलढुङ्गा महोत्सव बैशाख १५ गतेसम्म सञ्चालन हुने छ ।

उद्घाटनका दिन जिल्लामा रहेका नेवार, मगर, सुनुवार, तामाङ, गुरुङ समुदायले उत्कृष्ट झाँकी प्रदर्शन गरेका थिए । महोत्सवमा १५० भन्दा बढी ब्यापारिक स्टल राखिएको छ । महोत्सवको आकर्षकको रुपा प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकारहरुको सांगितक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव ओखलढुङ्गा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाडौंको सह आयोजनामा सञ्चालन भएको हो ।