नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

चम्पादेवीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु 

ओखलढुङ्गान्युज, बैशाख ४ । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ मा आझ (मंगलबार) अपरान्ह ट्यांकर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।ट्याक्टर दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टरका सहचालक सिद्धिचरण नगरपालिका वडा नं. ७ विगुटारका अन्दाजी २१ बर्षिय फुर्तेम्बा शेर्पा रहेका छन् । 

ओखलढुङ्गाबाट कुलोको सामान बोकेर चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु तर्फ जाँदै गरेको लु १ त ९९७४ नम्बरको ट्याक्टर मंगलबार अपरान्ह ५ बजेतिर विलन्दु र फुलबारीको सिमानामा पर्ने दुम्से खोलामा दुर्घटनामा परेको हो । कुशादेवी फर्निचरको उक्त ट्याक्टरले विलन्दुमा निर्माण हुँदै गरेको सुपारेखोलाको कुलोको सामान लिएर जाने क्रममा दुम्से खोलामा दुर्घटनामा परेको विलन्दुबाट महेश सुनुवारले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा परि ट्याक्टर चालक मोलुङ गाउँपालिका वडा नं. २ रामपुरका अभय सुनुवार गम्भिर घाइते भएका छन् । घाइते चालकलाई स्थानीयले उद्धार गरि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याएका थिए । स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात घाइतेको थप उपचारको लागि गाउँ पालिकाको एम्बुलेन्स मार्फत सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको स्थानीयले बताएका छन् ।

अहिले शब घटनास्थलमा नै रहेको विलन्दुबाट महेश सुनुवारले जानकारी दिए । ट्याक्टर सडकबाट करीब १ सय मिटर तल खेतमा पुगेको छ । घटनास्थलमा नजिकको प्रहरी चौकी घोराखोरीबाट प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।