नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

दोश्रो ओखलढुङ्गा महोत्सवको तयारी पूरा

ओखलढुङ्गान्युज, बैशाख भोली देखी ओखलढुङ्गामा हुने दोश्रो ओखलढुङ्गा महोत्सवको सबै तयारी पूरा भएको छ । बैशाख ५ गते देखी बैशाख १५ गते सम्म ओखलढुङ्गा जिल्ला सदरमुकामको खेलमैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको हो ।

महोत्सवमा राखिने मनोरञ्जनका सामाग्रीहरुको ब्यबस्थापन भैरहेको तथा हालसम्म १२० वटा स्टल निर्माण गरिएको महोत्सव आयोजक सम्पर्क समितिका सचिव अशेष श्रेष्ठले बताए । स्टल निर्माणको कार्य सकिएसँगै आजै साँझ देखि स्टलमा व्यापारीहरुले व्यापारिक सामाग्रीहरुको व्यबस्थापन गर्ने श्रेष्ठको भनाई छ ।

महोत्सवमा आउनेहरुले स्टलमा जिल्लाका स्थानीय कृषि, पर्यटन तथा व्यावसायीक उत्पादनहरुको अवलोकन र खरिदका साथै विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा मनोरञ्जन लिन सक्ने मूल आयोजक समितिका अध्यक्ष एवम् ओखलढुङ्गा उद्योग बाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए । महोत्सवमा आउनेहरुले विभिन्न जातिय संस्कृति झल्काउने खालका खानाहरुको स्वाद पनि लिन पाउन भन्ने उदेश्यले विभिन्न जातजातिले प्रयोग गर्ने गरेको जातिय परिकारहरुको स्वाद पनि लिन पाउने अध्यक्ष मास्केको भनाई छ ।

महोत्सवमा आउने दर्शकहरुलाई मनोरञ्जन प्रदान गराउनका लागि १० दिन फरक फरक कलाकारहरु ओखलढुङ्गामा आउने महोत्सवका सहआयोजक एआई ग्रुपका संयोजक अजय न्यौपानेले बताए । न्यौपानेले भने, ‘दर्शकहरुको मनोरञ्जनलाई लक्षित गरेर दशैदिन फरक फरक कलाकार महोत्सवमा आउनेछन् ।’ न्यौपानेले थपे ‘आयोजकको तर्फवाट सार्वजनिक गरिएको कलाकारको ब्यानरमा भएका कलाकार बाहेक अन्य कलाकारहरु पनि महोत्सवमा प्रस्तुतीका लागि आउनेछन् ।’

महोत्सवको उद्घाटन सत्रमा प्रस्तुती दिनका लागि जिल्ला सदरमुकाममा रहेको नेवारी समुदायले पनि लाखे नाचको तयारी गरिरहेको छ । नेवारका साथै अन्य सुनुवार, तामाङ, गुरुङ, मगर लगायतका जातजातिको पनि नाचका साथै झाँकीको तयारी भैरहेको आयोजकले जनाएको छ ।

महोत्सव भैरहेको स्थलमा प्रवेशका लागि आयोजकले टिकटको व्यबस्था गरेको छ । महोत्सव स्थलको मुख्य गेटबाट रु १०० को टिकट लिएर मात्र महोत्सव स्थलमा प्रबेश गर्न पाईने आयोजकले जनाएको छ । जेष्ठ नागरिक र विद्यार्थीहरुका लागि भने कार्ड लिएर गएमा तोकिएको टिकट शुल्कमा ३० प्रतिशत छुट हुने आयोजकले जनाएको छ ।