नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. ठाकुर र युवा पत्रकारीता पुरस्कार कार्कीलाई

ओखलढुङ्गान्युज, बैशाख युगकवि सिद्धिचरण प्रतिष्ठानले २०८१ को युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष वैरागी काईलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण पुरस्कार २०८१ ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरि प्रतिष्ठानको बैठकले युगकवि सिद्धिचरण युवा प्रतिभा पुरस्कार ओखलढुङ्गाका पत्रकार नवराज कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार कार्की नेपाल टेलिभिजनका ओखलढुङ्गा सम्बाददाता तथा ओखलढुङ्गाखबर डटकमका सम्पादक हुन् । प्रतिष्ठानको बैठकले उक्त दुवै पुरस्कार सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्तीको अवसर पारेर आगामी जेठ ९ गते एक विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै तीनदशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्रा.डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको उल्लेख गरिएको छ । त्यस्तै वि१प्तिमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत ओखलढुङ्गाका पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा.डा. अभि सुवेदी र प्रा.डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।