नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

चट्याङ्ग लागेर ओखलढुङ्गामा एकको मृत्यु

ओखलढुङ्गान्युज, चैत ३० हावाहुरी र पानी सँगै परेको चट्याङले ओखलढुङ्गामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ४ लोसा बस्ने बर्ष ३८ का बमन बहादुर तामाङ रहेको छन् ।

तामाङ विहिबार बेलुकी घरमा नै बसीरहेको अबस्थामा वर्षा र हुरीबतासँगै परेको चट्याङले लागेको थियो । चट्याङले लागेर ढलेका तामाङको घरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

घटनाको बारेमा जानकारी भएपछि प्रहरी चौकी राबादोलुबाट घटनास्थलमा पुगेको थियो । घटनास्थलमा शुक्रबार विहानै ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

खिजिफलाटेबाट प्रहरीको टोली घटनास्थलमा पुगेपछि आवश्यक कानुनी प्रकृया पूरा गरि शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।