नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एमाले जिल्ला अधिबेशनमा अध्यक्षमा कडा प्रतिष्पर्धा

ओखलढुङ्गान्युज, चैत २८ । गत शोमबारबाट सुरु भएको नेकपा एमाले ओखलढुङ्गाको १०औं जिल्ला अधिबेशनमा बुधबार विहानैबाट मतदान सुरु भएको छ । जारी अधिबेशनले नयाँ जिल्ला समितिको चयन गर्नेछ ।

नयाँ कार्यसमिति निर्माणका लागि अध्यक्ष पदमा तीनजनाले उमेद्वारी दर्ता गराएका छन् । अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष हर्कबोल राई, जिवी खड्का र तारा कार्कीले उमेद्वारी दर्ता गराएका हुन् । अध्यक्ष पदका उमेदवार बिच त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

उमेदवारको मनोनयन दर्ता हुनुपूर्व हर्कबोल राई र जीवी खड्काका बीच प्रतिष्पर्धा भए जीवी खड्काको पक्षमा अध्यक्ष पदका लागि पल्ला भारी रहेको एमाले जिल्ला नेताहरुले बताएका थिए । अध्यक्षमा जीवी खड्का नै निर्वाचित हुने उनको आकलन थियो । तर अध्यक्ष पदमा महिला नेतृ सरस्वती कार्की (तारा)ले पनि उमेद्वारी दर्ता गरेपछि अध्यक्ष पदमा कडा प्रतिष्पर्धा देखिएको एमाले युवा नेता अर्जुन गिरीले बताए ।

त्यस्तै उपाध्यक्ष पदमा कमल न्यौपाने र झम्कहरी बडालले उमेदवारी दर्ता गराएका छन् । पूर्व जिल्ला सचिव समेत रहेका न्यौपाने र एमाले नेता खड्ग बहादुर कार्की उपाध्यक्ष पदका लागि मैदानमा उत्रने पूर्वानुमान भएपनि एमाले विधान अनुसार उमेदवारीका लागि कार्कीको योग्यता नपुगेपछि उपाध्यक्षमा न्यौपाने र बडाल भिडेका हुन् ।

त्यस्तै सचिव पदका लागि निवर्तमान उपसचिव अशोक कुमार थापा र टंकलाल गिरी मैदानमा उत्रिएका छन् । उपसचिव पदका लागि दामोदर धमला र राजीव कटवाल, उपसचिव महिला पदमा लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा र रमिला मगर श्रेष्ठ तथा सदस्य आदिवासी जनजाती तर्फको दुइृ पदका लागि ६ जना चुनावी मैदानमा होमिएका छन् । मतदान बुधबार विहानै देखी जिल्ला समन्वय समितिको सभाहल ओखलढुङ्गामा भै रहेको छ ।

जारी १० औं अधिबेशन पश्चात आज बुधबार अपरान्ह सम्म नेकपा एमाले ओखलढुङ्गाले नयाँ नेतृत्व पाउनेछन् ।