नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नर्मदेश्वरमा आगलागीमा परी ३ घर जल्यो, टेलिकमको टावर जोखिममा

ओखलढुङ्गान्युज, चैत २७ । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ मा भएको आगलागीमा परि तीन घर जलेर नष्ट भएको छ । नर्मदेश्वरको साविक वडा नं. ४ पसन्टारका शिब श्रेष्ठ र सुब्बा श्रेष्ठको घर आगलागीबाट नष्ट भएको हो ।

शोमबार साँझबाट जंगलमा सल्किएको आगो क्रमश फैलदै गएर मंगलबार दिउँसो २ बजेतिर श्रेष्ठ द्वयको घर जलेको हो । सुब्बा श्रेष्ठ केहि महिना अगाडी खेतीपाती भित्र्याएर काठमाडौं गएका थिए । घरमा मान्छे नबसेपनि अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै भित्र नै रहेको बताइएको छ । 

त्यस्तै शिव श्रेष्ठ भने केहि समय देखि १ किलोमिटर टाढा अर्को घर बनाएर बस्दै आएका थिए । घरमा मान्छे नबसेका कारण मानविय र पशुचौपाया भने क्षति भएको छैन । आगलागीबाट भएको अन्य क्षतिको विवरण आउन बाँकी छ । 

आगलागी क्रमश: माथिल्लो भेग तर्फ फैलदै गइरहेको छ । भिरमा आगलागी भैरहेको तथा हावा चलिरहेकोले आगो नियन्त्रण बाहिर गएको छ । उक्त आगलागीका कारण यसमको डाँडामा रहेको नेपाल टेलिकम र एनसेलको टावर जोखिममा परेको छ । टावर जोखिममा परेपछि त्यसलाई आगलागी हुनबाट बचाउन घोराखोरीबाट आएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय खटिइरहेको लिखु गाउँपालिका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । 

आगलागीका कारण नर्मदेश्वर तथा यसम तर्फका अझै आधा दर्जन घरहरू जोखिममा रहेका छन् ।