नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चोरीमा संलग्न आरोपमा चिशंखुगढीका ३ महिला पक्राउ

ओखलढुङ्गान्युज, चैत २७ । जिल्लाको चिशंखुगढी गाउँपालिका विभिन्न स्थानमा फरक फरक समयमा चोरी गरेको अभियोगमा तीनजना महिला पक्राउ परेका छन् । पक्राउ परेका महिलाहरूलाई थप अनुसन्धानका लागि अदालतमा म्याद थप गरि प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका वडा नं. ४ चिसापानी, खतिवडा टोल बस्ने बर्ष २४ की सुनिता सार्की, सोहि स्थानकी २३ बर्षिया कबिता परियार र ५५ बर्षकी मिठु परियार रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । 

पक्राउ परेका महिलाहरुले चैत ११ गते राती ९:३० बजेको समयमा चिशंखुगढी ५ पाखे स्थित चिसापानी बस्ने दुर्गा बहादुर परियारको घर भित्र पसी घर भित्र रहेको दराजबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी जम्मा रु.१ लाख ८ हजार बराबरको धनमाल चोरी गरेका थिए । त्यस्तै चैत १६ गते राती १० बजे सोहि स्थानका कमल बहादुर राउतको घरमा पनि चोरी गरेका थिए । राउतको घरको झ्याल हसियाले फुटाई उनकी आमा वर्ष ७० की उमा कुमारी राउत सुति निदाएको अवस्थामा निजको घरकोठामा रहेको नगद तथा सुनचाँदीका गरगहना समेत गरी झन्डै १० लाख बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महिलाहरुको साथबाट झ्याल फुटाउन प्रयोग भएको हसिया १ थान, सुनको बाला १ थान, सुनको तिलहरी २ थान, सुनको छापे औठी १ थान, कानमा लगाउने सुनको मुन्द्री १ थान, नाकमा लगाउने सुनको फुली ४ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

त्यस्तै उनीहरुको साथबाट चाँदीको पाउँजु १ थान, चाँदीको छापे औठी १ थान, किप्याड मोवाईल ४ थान, कलेजि रंगको उनीको टोपी १ थान, पैसा राख्ने गरेको फलामको पाईप २ थान, नगद रु. ८ हजार ५ सय ६५ तथा मह, खाने तेल, साबुन, जस्ता दैनिक उपभोग्यका सामानहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।