नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

जिल्लाका आधा दर्जन स्थानमा आगलागीः एक घर पनि जल्यो

ओखलढुङ्गान्युज, चैत २३ बुधबार देखि नै जिल्लाका विभिन्न स्थानहरुमा आगलागी भैरहेका छन् । आगलागीका कारण विभिन्न सरकारी तथा सामुदायीक वन र नीजि वनमा रहेको करोडौं मूल्य बराबरका काठपात, दाउरा, घाँस नष्ट भएको छ ।

बुधबार देखि चिशंखुगढी गाउँपालिकाको वडा नं. १ सिसाखानी सामुदायीक वनबाट सुरु भएको आगलागी शुक्रबारबाट वडा नं. ५ को कालीपोखरी सामुदायीक वन तर्फ फैलिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । उक्त आगलागी नियन्त्रणका लागि स्थानीय नागरिक र स्थानीय प्रहरी चौकीबाट प्रहरीहरु खटिई रहेको भएपनि आगलागी नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

त्यसैगरी विहिबारबाट चिशुंगढी गाउँपालिका ५ शेर्नाका भोगेन्द्र सिंहको निजी खरबारीबाट आगलागी सुरु भएकोमा उक्त आगो शुक्रबार साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । विहिबारबाट नै सिद्धिचरण नगरपालिका वडा नं. ४ मा रहेको बान्द्रे सामुदायीक वनमा पनि आगलागी भैरहेको र शुक्रबार साँझसम्म आगलागी नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

विहिबारबाट नै खिजिदेम्बा गाउँपालिका ४ मा रहेको फोती सामुदायीक बनमा पनि आगलागी भैरहेको छ । आगलागी नियन्त्रणका लागि स्थानीय र नजिकै रहेको प्रहरी चौकीको प्रहरीहरु खटिई रहेको तर आगलागी नियन्त्रण भन्दा बाहिर गएको प्रहरीले जनाएको छ । आगलागी भैरहेका स्थानवाट वस्ति भने केहि टाढा रहेकोले तत्काल अन्य धनजनको क्षति हुनसक्ने संभावना भने कम रहेको पनि ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

शुक्रबार विहानै गाईबस्तुलाई खोले पकाउने क्रममा चुलोबाट आगो उछिट्टिएरमोलुङ गाउँपालिका २ का अष्ट बहादुर सार्कीको घर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीका कारण सार्कीको घरमा रहेको अन्नपात, लत्ता कपडा, भाडावर्तन र नगद ५ हजार भन्दा बढी जलेर नष्ट हुदा ४ लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सार्कीको घरमा आगलागी भएर अन्नपात र लत्ताकपडा नष्ट भएपनि मानविय तथा अन्य पशु चौपायाको क्षति भने नभएको पनि प्रहीले जनाएको छ ।