एसइइ दिएर फर्केका रामेछापका एक किशोरको दहमा डुवेर मृत्यु

ओखलढुङ्गान्युज, चैत २२ । आजको एसइइ परीक्षा सकाएर फर्कने क्रममा रामेछापमा एक किशोरीको लिखु नदीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ४ धारापानीका नर बहादुर श्रेष्ठको १८ बर्षिय छोरा भिम बहादुर श्रेष्ठ रहेका छन् ।
धारापानीमा रहेको रेनुकादेवी माविबाट एसइइ परीक्षामा सहभागी भएका श्रेष्ठको परीक्षा केन्द्र हिमगंगा मावि साँघुटार थियो । विहिवारको परीक्षा सकेर उनी साथिहरु सँग नै घर फर्कदै थिए । बाटोमा फर्कने क्रममा गर्मी भएपछि अन्य २ जना साथिहरु सहित उनी बसेरीमा पर्ने लिखु नदीको जलजले स्थित बोक्से दह भन्ने स्थानमा नुहाउदै पौडी खेल्न पसेका थिए ।
गहिरो दहमा साथिहरुसँग पौडी खेल्ने क्रममा अन्य दुइजना बाहिर निस्कन सफल भएका थिए । श्रेष्ठ भने दहमा नै डुब्न पुगेका थिए । श्रेष्ठ पानीमा डुबेर ननिस्किएपछि साथिहरुले आत्तिँदै मृतकका भिनाजुलाई खबर गरेका थिए । खबर पाउनासाथ मृतक श्रेष्ठको भिनाजुले साँघुटार तिर पनि खबर गर्दै पौडी खेल्न सिपालु साथिहरु सहित घटनास्थलमा पुगेका थिए ।
पानीमा डुबेको भन्ने जानकारी हुनासाथ अन्य मानिसहरु पुग्दा मृतक श्रेष्ठ पानीमा डुबेको झण्डै ४५ मिनेट भैसकेको बसेरीबाट राजु श्रेष्ठले जानकारी दिए । आफुहरु पुगेर दहमा पसेर खोजी गर्ने क्रममा निकै गहिरो दहभित्र शब देखेको र अन्य केहि साथिहरुको सहयोगमा झन्डै दुईघण्टा पछि शबलाइ बाहिर निकालेको राजु श्रेष्ठले बताए । मृतक श्रेष्ठको शवलाई दहबाट निकाल्ने क्रममा घटनास्थलमा नजिकको प्रहरी चौकी साँघुटारबाट प्रहरीको टोली पुगेको थियो ।
घटनास्थलको कानुनी प्रक्रिया पुरा गरि शबलाई हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप पठाइएको रामेछाप नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृपा थापामगरले जानकारी दिए ।

