नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

एसईई परीक्षामा पहिलो दिन ओखलढुङ्गामा ३३ जना अनुपस्थित

ओखलढुङ्गान्युज, चैत १५ आज विहिबार देखी सुरुवात भएको एसईई परीक्षाको पहिलो दिन ओखलढुङ्गामा ३३ जना विद्यार्थी अनुपस्थित भएका छन् । एसईई परीक्षाका लागि फारम भरेका साधारण धार तर्फका २ हजार ३ सय २९ जना परीक्षार्थी मध्ये ३२ जना नियमित तर्फका र १ जना ग्रेड बृद्धि तर्फका गरि ३३ जना अनुपस्थित भएका हुन् ।

एसईईको पहिलो दिनको परिक्षामा अनुपस्थित हुनेमा १७ जना छात्रा र १६ छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका सूचना अधिकारी विष्णु प्रसाद कँडेलले जानकारी दिए । जिल्लाबाट शैक्षिक सत्र २०८० को एसईई परीक्षामा सहभागी भएका २ हजार ४ सय ८० जना परीक्षार्थी मध्ये २ हजार ४ सय ४७ जना विद्यार्थीले मात्र पहिलो दिनको परिक्षा दिएको सूचना अधिकारी कँडेलले जानकारी दिए । परीक्षामा ३३ जना विद्यार्थी किन उपस्थित भएनन् भन्ने बारेमा केहि खुल्न नसकेको पनि सूचना अधिकारी कडेलले बताए । 

सूचना अधिकारी कडेलका अनुसार प्राविधिक धार तर्फ १३६, खुल्ला विद्यालय बाट १२ र ग्रेडबृद्धि परीक्षाका लागि तीन जना विद्यार्थीहरूले परीक्षाको फारम भरेकोमा ग्रेड बृद्धि तर्फ एकजना बाहेक अरु परीक्षामा सहभागी भएका हुन् । यस पटक ओखलढुङ्गा जिल्लामा ८२ ओटा माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई १७ वटा परिक्षा केन्द्र कायम गरि परिक्षा सञ्चालन गरिएको हो । पहिलो दिनको परिक्षा शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।