नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आजबाट एसईई परीक्षाः ओखलढुङ्गाबाट २४८० जना सहभागी हुँदै

ओखलढुङ्गान्युज, चैत १५ । आजबाट देशब्यापी रुपमा शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  ।

आजबाट सुरु भएको परीक्षा आउदो चैत २७ सम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आजबाट सुरु भएको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डौमा एक सय २७ वटा परीक्षा केन्द्र छन् । यसवर्षको एसईईमा जापानमा रहेको परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसैक्रममा आजबाट सुरु भएको परीक्षामा ओखलढुङ्गाबाट २ हजार ४ सय ८० जना विद्यार्थी सहभागी हुदैछन् । शैक्षिक सत्र २०८० अन्तर्गत ओखलढुङ्गाका ८१ माद्यमिक विद्यालयका २ हजार ४ सय ७७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । जसमध्ये साधारण धार तर्फ २ हजार ३ सय २९, प्राबिधिक धार तर्फ नौ वटा विषयका १ सय ३६ र खुला तर्फ १२ जना रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका सूचना अधिकारी एवम् परीक्षा फाँट प्रमुख विष्णु कडेंलले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष १ सय ५१ जना कम विद्यार्थी ओखलढुङ्गाबाट एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । गत वर्ष ओखलढुङ्गाबाट २ हजार ६ सय ३१ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी रहेका थिए । त्यस्तै यस वर्ष ग्रेड बृद्धि परीक्षामा सरस्वती माद्यमिक विद्यालय खानीभञ्ज्याङ्गबाट ३ जना विद्यार्थी सहभागी हुदैछन् ।

यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बाध्यता छ । सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन । ननग्रेडिङ ल्याउने विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्ने अबसर पाउने छैनन् । दुईं विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईंभन्दा बढी एनजी आए अर्को वर्ष मात्रै ती विषयको परीक्षा दिनुपर्नेछ ।