नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

लिखुमा तिन महिने केस सृङ्गार तथा विद्युत जडान तालिम सुरु

ओखलढुङ्गान्युज, चैत १४ लिखु गाउँपालिकाका युवा तथा युवतीहरुलाई व्यावसायीक बनाउने उद्धेश्य सहित आजबाट यसममा तिन महिने केस सृङ्गार तथा विद्युत जडान तालिम सुरु भएको छ । आज लिखु गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच तालिमको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले तालिममा सिकेको शीपले युवा युवतीहरुलाई आर्थिक उपार्जनमा टेवा पुग्नुका साथै आत्मनिर्भर बन्न पनि सहज हुने बताए । तालिम लिएपछि आफुमा शीप नभएका कारण युवा युवतीहरु बेरोजगार भएर भौतारिनु पर्ने अबस्था केहि मात्रामा भएपनि कम हुने समेत गाउँपालिका अध्यक्ष कार्कीको भनाई थियो ।

तालिममा केश सृङ्गार तर्फ १५ जना र विद्युत जडान तर्फ १५ जनालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको व्यावसायीक शीप विकास तथा तालिम केन्द्र ओखलढुङ्गाले जनाएको छ । प्रदेश सरकारको बजेट तथा कार्यक्रम अनुसार तालिम लिखु गाउँपालिका र व्यावसायीक तथा शीप विकास तालिम केन्द्र ओखलढुङ्गाको संयुक्त आयोजनामा सुरु भएको हो ।

तालिम अबधीभर प्रशिक्षार्थीहरुका लागि खाजा बापतको रकम समेत आयोजकले व्यबस्था गरेको छ । प्रति प्रशिक्षार्थी खाजाबापत दैनिक ५० रुपैयामा कर कट्टी गरेर प्रदान गरिने व्यावसायीक तथा शीप विकास तालिम केन्द्र ओखलढुङ्गाले जनाएको छ । शीप सिक्नका लागि सदुरमुकाममा धाएर हजारौं खर्च गरिरहनु परेको अबस्थामा हाल गाउँमा नै तालिम सञ्चालन भएर शीप सिक्न पाएको भन्दै तालिममा सहभागीहरु खुशी भएका छन् ।