नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

धनकुटामा प्रदेश राजधानीको झल्को दिदै मन्त्रीपरिषद बैठक

ओखलढुङ्गान्युज, चैत १४ कोशी प्रदेशको धनकुटा जिल्लामा प्रदेश सरकारको मन्त्री परिषद्को बैठक बसेर प्रदेश राजधानीको झल्को दिएको छ । धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको मन्त्री परिषदको बैठकले धनकुटालाई पनि प्रदेश राजधानीको झल्को दिएको हो ।

बृहत विराट क्षेत्रको अबधारणा अनुसार कोशी प्रदेशको राजधानी विराटनगर घोषणा भएपनि मुख्यमन्त्री कार्कीको नेतृत्वमा मंगलबार पहिलो पटक धनकुटाको सम्पर्क कार्यालयमा पनि कोशी प्रदेशको मन्त्रीपरिषदको बैठक बसेको हो । तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ साल बैशाख २९ गते धनकुटामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको उद्घाटन गरेर निरन्तर मन्त्रीपरिषको बैठक बस्ने र महत्वपूर्ण निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए । तर ब्यबहारमा भने लागू भएको थिएन ।

मुख्यमन्त्री कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै धनकुटामा रहेको सम्पर्क कार्यालयमा पनि मन्त्रीपरिषदको बैठक बसेर सम्पर्क कार्यालयबाट समेत जनताका काम गर्ने प्रतिबद्धता जनाएका थिए । मुख्यमन्त्री कार्की आफ्नो प्रतिबद्धतालाई पूरा गर्दै कार्यक्रमका साथ मन्त्रीपरिषदको बैठक बसाउन धनकुटा पुगेका हुन् ।

सम्पर्क कार्यालयमा बसेको पहिलो मन्त्रीपरिषद बैठकले स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने, स्वदेशी तथा विदेशी पाहुनाहरुलाई मायाको चिनो प्रदान गर्नुपर्दा, कर्मचारीको स्वागत तथा विदाई गर्दा प्रदान गरिने मायाको चिनो प्रदेश भित्रकै उत्पादन हुनुपर्ने निर्णय गरेको छ । त्यस्तै महिनाको एक पटक मन्त्रीपरिषदको बैठक सम्पर्क कार्यालयमा गर्ने लगायतका निर्णय भएको कोशी प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री सम्पर्क कार्यालयको सम्पर्क कार्यालयमा नै मंगलबार प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।