नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोशी प्रदेशका खेलाडी र प्रशिक्षक पुरस्कृत

ओखलढुङ्गान्युज, चैत १३ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रीपरिषद बैठककालागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर, अमिसा कार्की, हिरा कुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अन्जिला तुम्बाप्पो तथा प्रशिक्षक श्याम मानन्धरलाई जनही नगद २५ हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

त्यसैगरी मुख्यमन्त्री कार्कीले मलेसियामा सम्पन्न भएको आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद ५० हजार सहित सम्मान गरेका हुन् । उता चीनमा सम्पन्न भएको १९ औँ एसियाली गेम्समा महिला कबड्डी तर्फका कास्य पदक विजेता मुख्य प्रशिक्षक पार्वती राई सहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद २÷२ लाख सहित मुख्यमन्त्री कार्कीले सम्मान गरेका हुन् । सोही प्रतियोगितामा रजत पदक विजेताका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठलाई समेत नगद २ लाख र कदरपत्र सहित मुख्यमन्त्री कार्कीले सम्मान गरेका हुन् ।

खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले खेल र खेलाडीको विकासकालागि आवश्यक बजेटको प्रबन्ध गरेको बताए । खेल कक्षाकोठा बाहिरको सिकाइका साथै रोजगारीको श्रोत पनि भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्ड मार्फत अन्तर्राष्ट्रिय स्तरमा भएका खेलका बिजेतालाई सम्मान गर्ने कार्य योजना बनाएको मुख्यमन्त्री कार्कीले बताए । उनले प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्य योजना बनाएर अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादनका लागि आएको अवस्थामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाएका थिए ।