नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

विद्युत सर्ट भै करेन्ट लाग्दा ओखलढुङ्गामा एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज, चैत ११ विद्युत लाईनमा सर्ट भई आगलागी हुँदा ओखलढुङ्गामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ३ दियाले, बोडीछाप बस्ने ५७ बर्षिया सिजन कुमारी थापा रहेकी छन् ।

आईतबार विहान करीब साँढे ५ बजेतिर अचानक थापाको घरमा विद्युत सर्ट भई हाईभोल्टेज करेन्ट प्रवाह भएको थियो । करेन्ट लागेका कारण थापा बेहोस भएका थिए भने घरमा आगलागी समेत भएको थियो । करेन्ट लागेर बेहोस भएकी थापालाई स्थानीयको सहयोगमा घर बाहिर निकालिएको भएपनि उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए ।

विद्युत सर्टका कारण आगलागी भएको भनेर जानकारी हुनासाथ प्रहरी चौकी खानीभञ्ज्याङको टोली घटनास्थलमा पुगेको थियो । विद्युत सर्ट भै घरमा लागेको आगोलाई प्रहरी र स्थानीयको सहयोगमा झण्डै दुई घण्टा पछि नियन्त्रणमा लिईएको पनि सूचना अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

आगलागीका कारण थापाको ढुङ्गामाटोले बनेको, फूसको छाना भएको दुईतले घर तथा काठपात जली नष्ट हुँदा ३ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । कानूनी प्रकृया पुरा गरि शबको पोष्टमार्टमका लागि पठाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।