नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

रुसको एउटा कन्सर्टमा बन्दुकधारीको आक्रमणः ६० जनाको मृत्यु

ओखलढुङ्गान्युज, चैत १० रुसमा एउटा कन्सर्ट हलमा बन्दुकधारीहरुले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसको मस्को नजिकैको क्रोकस सिटी हलमा भएको उक्त आक्रमणमा परि १५० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमा पुगेका सुरक्षाकर्मीले त्यहाँबाट सय जनाभन्दा बढीको उद्धार गरेको जनाएका छन् । घाइते भएका मध्ये ६० जनाको अवस्था गम्भीर रहेको रुसको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यहाँ कन्सर्ट हुन लाग्दैगर्दा भेष बदलेर हलभित्र प्रवेश गरेका ती हतियारधारीले गोली चलाएका हुन् ।

कन्सर्टमा प्रस्तुति दिने तयारीमा रहेका कलाकार भने सुरक्षित रहेको बताइएको छ । रुसी मानव अधिकार आयोगले यो आक्रमणलाई ‘आतंकवादी हमला’ भनेर टिप्पणी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । रुसी राष्ट्रपति म्लादिमिर पुटिनले घटनाप्रति दुख व्यक्त गर्दै आक्रमणमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

इराक र सिरीयामा लामो समयदेखी सक्रिय रहेको आईएसआईएल समूहले घटनाको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।