नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

बलात्कारको झुटो आरोप लगाउने ओखलढुङ्गाकी एक महिलालाई दुई महिना जेल

ओखलढुङ्गान्युज, चैत आफुलाई बलात्कार गरेको भनेर झुटो आरोप लगाउने ओखलढुङ्गाका एक महिलालाई जिल्ला अदालत ओखलढुङ्गाले नगद सहित दुई महिनाको जेल सजाय हुने फैसला गरेको छ । खिजिदेम्बा गाउँपालिकाकी एक २५ बर्षिया महिलालाई जेल सहित नगद जरिवाना हुने फैसला सुनाईएको हो ।

जिल्ला अदालत ओखलढुङ्गाका माननिय न्यायाधीस गिरीराज गौतमको एकल ईजलासले विहिबार बलात्कार उजुरीका प्रतिबादी विरुद्ध झुटो आरोप लगाएको भन्दै ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाकी २५  बर्षिया एक महिलालाई दुई महिना जेल र ५ हजार जरिवाना हुने फैसला सुनाईएको हो ।

जरिवाना र जेल सजायको फैसला सुनाईएकी ती महिलाले खिजीदेम्बा गाउँपालिका–३ चण्डेश्वरीका २३ बर्षीय फुरी शेर्पाले आफुलाई २०८० असोज १९ गते जबरजस्ती करणी गरेको भन्ने आरोप लगाएकी थिईन् । आरोप सहित उनले गत असोज २९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेपछि जाहेरीका आधारमा प्रहरीले आरोपित शेर्पालाई असोज २९ गते पक्राउ गरेको थियो ।

प्रहरीले शेर्पालाई पक्राउ गरि सरकारी वकिलको कार्यालय मार्फत कार्तिक १९ गते जबरजस्ती करणी मुद्धामा ओखलढुङ्गा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । अदालतमा मुद्धा दर्ता भए पश्चात जिल्ला आदालतका तत्कालीन जिल्ला न्यायाधीस टिकाराम आचार्यको आदेशमा कार्तिक १९ गते पक्राउ परेका आरोपित शेर्पालाई पुर्वक्षका लागि थुनामा पठाइएको थियो ।

आफुलाई बलात्कार गरेको आरोप लगाउने महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपनि अदालतमा भएको बकपत्रमा भने रिसीवीका कारण आफुले शेर्पा विरुद्ध बलात्कारको आरोप लगाएको भनेर बयान दिएकी थिईन्।

जिल्ला अदालतमा झुटो विवरण सहित मुद्धा दर्ता गरेकोले महिलालाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ को उपदफा २ को खण्ड ‘क’ बमोजिम दुई महिना कैद सजाय र पाँच हजार जरिवाना हुने फैसला भएको जिल्ला अदालत ओखलढुङ्गाका सूचना अधिकारी प्रमोद रिजालले जानकारी दिए । प्रतिकुल बकपत्र दिएर कैद सजाय र जरिवाना भएको थोरै फैसलाहरु मध्ये ओखलढुङ्गामा यो पनि पर्ने सूचना अधिकारी रिजालले जानकारी दिए ।