नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा ट्रयाक्टर दुर्घटना, दुईजना घाइते

ओखलढुङ्गान्युज, चैत ७ । बुधबार ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ५ मा गिट्टी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ । ट्रयाक्टर दुर्घटना दुईजना गम्भिर घाइते भएका छन् ।

सुनकोशी ५ टाउके स्थित कोषभञ्ज्याङ-च्यानम भित्री सडक खण्डमा कोषहाटबाट गिट्टी बोकेर च्यानम तर्फ जाँदै गरेको लु ४ त ६५३० नम्बरको ट्याक्टर बुधबार दिउसो १२:३० बजेतिर दुर्घटनामा परेको हो । सडकको छेउको साईड भत्किन गई सडकबाट अन्दाजी ५०/६० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार दुई जना गम्भिर घाइते भएका हुन् ।

ट्रयाक्टर दुर्घटनामा परि घाइते हुनेहरुमा सुनकोशी गाउँपालिका वडा नं. ५ मुलखर्कका ४८ बर्षीय लेख बहादुर कटवाल, सोहि ठाँउका ४६ बर्षिया विर बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको थियो । हाल घाइते दुवैको सामुदायीक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ट्रयाक्टर दुर्घटना पश्चात त्यसका चालक उदयपुर जिल्ला कटारी नगरपालिका वार्ड नं. ४ बस्ने वर्ष ३२ को  मिन बहादुर खड्का फरार रहेका छन् । ट्रयाक्टर चालक खड्का तत्काल घटना स्थलबाट सम्पर्क बिहिन रहेको तथा निजको खोजतलास कार्य भईरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।