नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

लिखु अध्यक्ष कपको उपाधी पुरुष तर्फ चम्पादेवी र महिला तर्फ भोजपुरलाई

प्रथम स्थान प्राप्त गर्न सफल आमचोक गाउँपालिका भोजपुर

ओखलढुङ्गान्युज, चैत लिखु गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिवार सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अध्यक्ष कप भलिबल प्रतियोगितामा पुरुष तर्फ ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र महिला तर्फ भोजपुरको आमचोक गाउँपालिका प्रथम भएको छ ।

प्रथम स्थान प्राप्त गर्न सफल आमचोक गाउँपालिका भोजपुर

महिला तर्फ प्रथम हुदै आमचोक गाउँपालिका भोजपुरले नगद रु १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो हुँदै सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिका तेश्रो हुँदै नगद रु ७० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । रामेछापमा लिखु तामाकोशी गाउँपालिकाले भने सान्त्वना हुँदै नगद रु ४० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

दोश्रो स्थान प्राप्त गर्न सफल माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बु

शनिबार सम्पन्न भएको महिला तर्फको फाईनल खेलमा आमचोक गाउँपालिका भोजपुरले सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका सोलुखुम्बुलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो । त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिकाले पनि लिखु तामाकोशी गाउँपालिका रामेछापलाई ३–० को सोझो सेटमा नै पराजित गर्दै तेश्रो बनेको हो ।

प्रथम स्थान प्राप्त गर्न सफल चम्पादेवी गाउँपालिका

उता पुरुष तर्फको खेलमा पनि प्रथम हुँदै चम्पादेवी गाउँपालिकाले नगद रु १ लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । दोश्रो हुँदै लिखु गाउँपालिका टीम ए ले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । शनिबार भएको फाईनल खेलमा चम्पादेवीले लिखु गाउँपालिका टीम ए लाई ३–१ को सेटमा पराजित गर्दै उपाधी चुमेको हो । चम्पादेवी गाउँपालिकासँग पराजित हुँदै लिखु ए ले उपविजेतामा सिमित बनेको हो ।

दोश्रो स्थान प्राप्त गर्न सफल लिखु गाउँपालिका टीम ए

त्यस्तै लिखु तामाकोशी गाउँपालिका रामेछापले चिशंखुगढी गाउँपालिका ओखलढुङ्गालाई पराजित गर्दै नगद रु ७० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । लिखु तामाकोशीसँग पराजित भएसँगै चिशंखुगढीले सान्त्वना स्थान प्राप्त गरेको हो । लिखु तामाकोशीसँग चिशंखुगढी ३–२ को सेटमा पराजित भएको हो । सान्त्वना स्थान प्राप्त गर्दै चिशंखुगढीले नगद रु ४० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारेको छ ।

फागुन ३० देखी चैत ३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला तर्फ सर्बोत्कृष्ट खेलाडी आमचोककी आरोसी राई, सर्बोत्कृष्ट सेटर आमचोककी रोसिका बराईली, सर्बोत्कृष्ट सेटर आमचोककी रुमा श्रेष्ठ, सर्बोत्कृष्ट डिफेन्डर माप्य दुधकोशी सोलुखुम्बुकी कुसुम राई, सर्बोत्कृष्ट ब्लकर मानेभञ्ज्याङ्गकी कृष्ण श्रेष्ठ र अनुशासित खेलाडी माप्य दुधकोशी सोलुखुम्बुकी चाँदनी राई बन्दै ट्रफि र प्रमाणपत्रका साथमा जनही नगद रु २ हजार प्राप्त गरे ।

त्यस्तै पुरुष तर्फ सर्बोत्कृष्ट खेलाडी चम्पादेवीका समीप श्रेष्ठ, सर्बोत्कृष्ट सेटर लिखु गाउँपालिका टीम ए का तेज बहादुर खड्का, सर्बोत्कृष्ट डिफेन्डर चम्पादेवीका शिबराम मगर, सर्बोत्कृष्ट सेटर चम्पादेवीका रमेश श्रेष्ठ, सर्बोत्कृष्ट सर्भर लिखु तामाकोशी रामेछापका रोशन मगर र अनुशासित खेलाडी चिशंखुगढीका सुनिल माझी बनेका थिए । सर्बोत्कृष्ट बन्न सफल खेलाडीले जनही ट्रफि सहित प्रमाणपत्रका साथमा नगद रु २ हजार प्राप्त गरे ।

विजेता खेलाडी तथा टीमलाई कोशी प्रदेशका पूर्व अर्थ समिति सभापति तथा ओखलढुङ्गाबाट निर्वाचित प्रदेश सांसद मोहन कुमार खड्का, लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापाले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।