नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

आजबाट ओखलढुङ्गामा दादुरा–रुबेला विरुद्धको खोप अभियन सुरु

ओखलढुङ्गान्युज, फागुन २९ आजबाट ओखलढुङ्गामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । ओखलढुङ्गा जिल्लामा मंगलबाट चैत ४ गतेसम्म सञ्चालन हुनेगरि देखी ९ महिना देखी ५ बर्ष मुनीका बच्चाहरुलाई दादुरा– रुबेला बिरुद्धको खोप दिन थालिएको हो ।

खोप अभियान अन्तर्गत ओखलढुङ्गामा झण्डै ८ हजार ५ सय बढी बालबालिकाहरुलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ । जिल्लाका खोप सञ्चालन हुने पालिकाका सबै खोप केन्द्रहरुमा एक/एक जना खोप कार्यकर्ता तथा २/२ जना स्वयम्सेवक परिचालन गरिएको पनि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने नेपाल सरकारकोअभियान अन्तर्गत खोप अभियान सुरु गरिएको हो । दादुरा–रुबेला रोगको संक्रमित भएका ब्यक्ति प्रति एकजनाबाट १८ जना सम्मलाई संक्रमण सर्ने भएकोले यसलाई कोभिड भन्दा पनि खतरनाक संक्रामक रोग मानिन्छ ।

दादुरा मिजल्स भाईरसको कारण अति नै छिटो सर्ने संक्रामक रोग हो । बालबालिकामा दादुरा–रुबेलाको संक्रमण भएको अबस्थामा बालबालिकाहरुलाई ज्वरो आउने, शरीरमा रातो विमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण देखिने लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताए । रोगबाट बच्न अहिले सरकारले खोप अभियान सञ्चालन गरिरहेकोले आफ्नो घर नजिकैको तोकिएको खोप केन्द्रमा लगेर आफ्ना बालबच्चाहरुलाई खोप लगाउनबाट नछुटाउन समेत स्वास्थ्य शाखा प्रमुख चौधरीले अनुरोध गरे ।

अभियान अन्तर्गत लिखु गाउँपालिकामा पनि ६ सय ४ जनालाई खोप लगाउने लक्ष्य सहित प्रत्येक वडाका तोकिएको खोप केन्द्रहरुमा स्वास्थ्यकर्मीहरुको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । अभियान लिखु गाउँपालिकामा पनि आगामी चैत ४ गते सम्म जारी रहने छ ।