नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मदनानन्द स्मृती अक्षयकोषबाट बरुणेश्वरका चार विद्यार्थी पुरस्कृत

ओखलढुङ्गान्युज, फागुन २७ मदनानन्द स्मृती अक्षयकोषबाट बरुणेश्वर माद्यमिक विद्यालय रामपुरका चारजना विद्यार्थी पुरस्कृत भएका छन् । स्वर्गीय मदनानन्द दाहालको बार्षिक पुण्यतिथीको अबसर पारेर बरुणेश्वर माद्यमिक विद्यालय रामपुरमा आज आयोजित एक कार्यक्रमका बिच उनीहरु पुरस्कृत भएका हुन् ।

मदनानन्द स्मृती कोषले प्रत्येक वर्ष अक्षयकोषको मूल पूँजिबाट प्राप्त हुने ब्याजको ७५ प्रतिशत रकम बरुणेश्वर माविबाट एसईईमा उत्कृष्ट जिपिए ल्याउने साधारण र प्राबिधिक धार तर्फका २/२ जनालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्दै आएको छ । सोही अनुरुप यस वर्ष शैक्षिक सत्र २०७९ मा उत्कृष्ट अंक प्राप्त गर्ने साधारण धार तर्फका गान्धी गौतम र पूजा मगर तथा प्राबिधिक धार तर्फका कुशल खड्का र प्रतिमा दाहाल जनही रु ५ हजार नगद र प्रमाणपत्र सहित पुरस्कृत भएका हुन् ।

स्वर्गीय नन्दलाल दाहाल र मदनादेवीको छोराहरु बाबुराम दाहाल, ऋषीराम दाहाल, मोहन प्रसाद दाहाल र छोरी धनमाया खतिवडाले २०७४ सालमा रु ३ लाख ५० हजारको व्याजको ७५ प्रतिशत रकम छात्रबृत्तिमा खर्च गर्नेगरि अक्षयकोषको स्थापना गरिदिएका थिए । अक्षय कोषबाट प्राप्त हुने ब्याजको ७५ प्रतिशत रकम छात्रबृत्ति दिने र बाँकी २५ प्रतिशत मूलधनमा नै गाभिने गरि अक्षयकोषको स्थापना गरिएको बरुणेश्वरबाट भिष्म दाहालले जानकारी दिए । अक्षयकोषमा यसवर्ष रु २० हजार थप गरी अक्षयकोष रकम रु ३ लाख ७० हजार पुर्याईएको पनि दाहालले बताए । 

छात्रबृत्ति रकम प्राप्त गर्ने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राई र अक्षयकोष स्थापना कर्ता बाबुराम दाहालले छात्रबृत्ति बापतको रकम र प्रमाणपत्र प्रदान गरेका थिए । छात्रबृत्ति रकम प्रदान कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले शिक्षा क्षेत्रमा गरेको लगानी लामो समयसम्म रहेन बताए । दाहाल परिवारले जस्तै अरुले पनि अक्षयकोष स्थापना गरेर वा अन्य विभिन्न नाममा बाट लगानी गर्न समेत गाउँपालिका अध्यक्ष राईले अनुरोध गरे ।

आफु ८४ बर्ष पुगेको अबसरमा कार्यक्रम मार्फत नै बाबुराम दाहालले २ लाख रुपैयाको अर्को अक्षयकोषको स्थापना गरिदिएका छन् । आफ्नै नाममा स्थापना गरिदिएको बाबुराम दाहाल अक्षयकोषको २ लाख रकमको प्रत्येक वर्ष प्राप्त हुने ब्याज मात्र खर्च हुनेछ । प्राप्त हुने ब्याजबाट बरुणेश्वर मावि रामपुरमा अध्ययन गर्ने कक्षा ८ का उत्कृष्ट छात्रा १ जना, छात्र १ जना र दलित विद्यार्थी मध्ये उत्कृष्ट १ जनालाई नगद छात्रबृत्ति प्रदान गरिदिन दाहालले अनुरोध समेत गरेका थिए ।