नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखु अध्यक्ष कप: तोकिएकै ठाउँमा खेल सञ्चालन गर्न दिन स्थानीय सहमत

ओखलढुङ्गान्युज, फागुन २४ । आगामी फागुन ३० गते देखी लिखु गाउँपालिकामा हुने अध्यक्षकप भलिबल प्रतियोगिता २०८० सञ्चालन हुन दिन स्थानीय सहमत भएका छन् । आज गाउँपालिकाका अध्यक्ष अशोक कार्कीको उपस्थितीमा भएको छलफलका क्रममा स्थानीय सहमत भएका हुन् ।

लिखु गाउँपालिकाले अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता लिखु गाउँपालिकाको वडा नं. ५ मा मानेडाँडा नजिकै रहेको गाउँपालिकाको जग्गामा रहेको खेलमैदानमा खेलाउने निर्णय भएसँगै स्थानीयले बिरोध सुरु गरेका थिए । आफूहरुले अन्न उत्पादन गर्ने जग्गाको मुटु मानिएको स्थानको जग्गालाई गाउँपालिकाको कार्यालय बनाउन भनेर निशुल्क दान गरेको (१२ रोपनी जग्गा) स्थानलाई गाउँपालिकाले कार्यालय नबनाई खेलमैदानमा रुपान्तरण गर्न लागेको भन्दै स्थानीयहरु गाउँपालिकाको उक्त निर्णयका विरुद्धमा उत्रिएका थिए ।

विहिबार दिउँसो स्थानीय र गाउँपालिका अध्यक्ष सहितको छलफलमा गाउँपालिकाले उक्त स्थानमा आफ्नो प्रशासकिय भवन बनाउने विषयमा आफू पछि नहट्ने गाउँपालिका अध्यक्ष कार्कीले बताएका थिए । तत्काल उक्त स्थानमा खेल सञ्चालन भएपनि गाउँपालिकाको कुनैपनि दस्तावेजमा खेलमैदान उल्लेख नगर्ने शर्तमा स्थानीय नागरिक खेल सञ्चालन गर्न दिन सहमत भएका हुन् ।

स्थानीयसँग सहमती भएसँगै गाउँपालिकाको नाममा रहेको उक्त जग्गामा खेल सञ्चालन हुने पक्का भएको छ । खेल सञ्चालनका लागि आवश्यक व्यबस्थापनको कार्यपनि आजैबाट तिब्रगतिमा सुरु भएको लिखु गाउँपालिकाका प्रबक्ता एवम् वडा नं. ५ का वडा अध्यक्ष मोहन कार्कीले जानकारी दिए । पुरुष तथा महिला भलिवल प्रतियोगितामा सहभागीता जनाउन आउने विभिन्न जिल्लाका पाहुना खेलाडीहरुलाई सहजता पूर्वक बसी खेल प्रदर्शन गर्न सहज होस भनेर सम्पूर्ण तयारीका लागि स्थानीयलागि परेको समेत प्रबक्ता कार्कीले जानकारी दिए ।