नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कानुनले बाटो देखाउने हो, डर होइनः मुख्यमन्त्री कार्की

ओखलढुङ्गान्युज, फागुन २४ कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाएको बताएका छन् । कानूनले डर मात्रै देखाउँदै आएको भन्दै मुख्यमन्त्री कार्कीले असन्तुष्टि जनाएका हुन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्ने बताएका हुन् । कानुन अपरिवर्तनीय नभई समय आवश्यक्ता अनुसार परिवर्तन हुने भन्दै कानुन शासनभन्दा सहजीकरणका लागि हुनुपर्नेमा जोड दिए ।

प्रदेशमा अहिलेसम्ममा छ जना मुख्य न्यायाधिवक्ता उत्पादन भइसक्यो तर आफू पदमा हुँदा त्यही कानुन ठीक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै अदालतमा वहस गरेपछि कसरी संघीयता कार्यान्वयन हुन्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरे ।

मुख्यमन्त्री कार्कीले आफू सरकारमा रहुञ्जेल संविधानको अक्षरसः पालना गर्ने प्रतिवद्धता जनाए । सहिदको रगतले लेखिएको संविधान विपरित सरकारको कुनैपनि काम नगर्ने उनले सुनाए । उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिवद्धा समेत जनाए ।