नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चिशंखुगढीको कुइभिरमा जंगलबाट सल्केको आगोले घर पनि जल्यो

ओखलढुङ्गान्युज, फागुन २३ । जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. १ कुइभिरमा आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । आगलागीमा परि कुइभिरका आश बहादुर राईको घर जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएकाे हाे ।

बुधबार अपराह्न ४ बजेतिर निजी जंगलबाट सुरूवात भएको आगलागीले राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहका अनुसार आगलागीबाट ढुङ्गा माटोले बनेको, फूसको छाना भएको तीन तले घर, घर भित्र रहेको अन्तपात, लत्ता कपडा, भाँडावर्तन, काठपात र नगद रु. ७० हजार समेत पूर्ण रुपमा जली नष्ट हुँदा अंदाजी  रु. १० लाख बढीको क्षति भएकाे हाे ।

प्रहरी निरीक्षक सिंहका अनुसार आगलागीमा परि कुनै मानविय क्षति नभए पनि १० ओटा कुखुरा जलेर नष्ट भएको छ भने १ ओटा बंगुर जली घाईते भएको छ । घर आश बहादुर राईको भएपनि हाल त्यहाँ याम बहादुर राई बस्दै आएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

अहिले पनि जंगलमा आगलागी भैरहेको तथा आगो नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ । जंगलमा भैरहेको आगलागीले जंगलका बोटविरुवा जलिरहेको भएपनि तत्काल गाउँ वस्ती भेट्ने सम्भावना भने नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।