नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखुमा अध्यक्ष कप भलिवल, प्रथमले पाउनेछन नगद १ लाख ५० हजार

ओखलढुङ्गान्युज, फागुन २३ जिल्लाको लिखु गाउँपालिकामा गाउँपालिका अध्यक्ष कप महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । सामाजिक सद्भावना तथा एकताको लागि खेलकूद भन्ने मूल नाराका साथ आगामी फागुन ३० गतेदेखी चैत ३ गतेसम्म गाउँपालिकाको मुकाम यसममा भलिबल प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिताका विजेताले नगद रु १ लाख ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्नेले नगद रु १ लाख, तेश्रो हुनेले ७० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले नगद रु ४० हजारका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लिखु गाउँपालिकाले गत वर्ष आफ्नै गाउँपालिका भित्रको वडा स्तरीय गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन गरेको थियो । यसपटक भने गाउँपालिकाले पालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत यस पटक गाउँपालिकाले महिला तथा पुरुष दुवै खेलका लागि समान पुरस्कार तथा शिल्ड मेडल र प्रमाणपत्रको व्यबस्था गरेको लिखु गाउँपालिकाका कार्यपालिका सदस्य एवम् खेलकुदका संयोजक पशुपति सुनुवारले जानकारी दिए ।

भलिबल प्रतियोगिता सञ्चालनका लागि गत फागुन ३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पुरुष तथा महिला खेलाडीका लागि फरक पुरस्कार राशी प्रदानको निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय पश्चातको उक्त सूचनाको बारेमा जनस्तरमा चर्को विरोध भएपछि गाउँपालिकाले निर्णयलाई सच्याउदै पुरुष तथा महिलाका दुवै प्रतियोगितामा सहभागी जनाउने टीमलाई समान पुरस्कारको ब्यबस्था गरेको हो ।

खेल सञ्चालनको अन्तिम तयारी भैरहेको बेला खेलमैदानको बारेमा भने केहि बिरोध भएको छ । खेल सञ्चालनका लागि तयारी गरिएको स्थानको बारेमा हाल केही स्थानीयले असन्तुष्टि जनाउदै गाउँपालिकामा निवेदन दिएका छन् । निवेदनको बारेमा फागनु २७ गते बस्ने गाउँ कार्यपालिकाको बैठकमा छलफल हुने गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि आफुहरुले निशुल्क उपलब्ध गराएको जग्गालाई खेलमैदानको नामांकरण गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

स्थानीयको गुनासोको बारेमा छलफल पनि हुदै गर्ने र यसपटकको गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता यसमको बसपार्क नजिकै रहेको गाउँपालिकाको उक्त खाली जग्गामा नै सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष कार्कीले जानकारी दिए । गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप भलिबल प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरुलाई सहज होस भनेर बस्ने स्थानका लागि होम स्टे जसरी ब्यबस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण ओखलढुङ्गान्युज डटकमबाट हुनेछ ।