नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखुको यसममा १२ फिट अग्लो शिवमूर्ति स्थापना

ओखलढुङ्गान्युज, फागुन २१ लिखु गाउँपालिकाको वडा नं. ५ यसमको मानेडाँडामा स्थानीय युवाहरुको सक्रियतामा शिबको मुर्ति निर्माण गरिएको छ । स्थानीय युवाहरुको सक्रियतामा १२ फिट उचाईको मूर्ति स्थापना गरिएको हो ।

स्थानीय युवाहरुको पहलमा मनका धनी व्यक्तित्वहरुसँग आर्थिक सहयोग संकलन गर्दै शिवको मूर्ति स्थापना गरिएको शिवमूर्ति निर्माणका अगुवा सन्तोष काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार शिव मूर्तिको निर्माणका लागि अहिलेसम्म गाउँमा, शहरमा तथा विदेशमा रहनुहुने सयौं मनका धनी ब्यक्तित्वहरुवाट ७ लाख ५० हजार भन्दा बढी रकम संकलन भएको छ  सोहि उठेको रकमबाट शिवमूर्तिको स्थापनासँगै मूर्तिको वरपर घेराबार र रंगरोगनको काम भैरहेको काफ्लेले जानकारी दिए ।

शिवमूर्तिको निर्माण कार्य सम्पन्न गरी फागुन २५ गते शिवरात्रीको अबसर पारेर मूर्तिको प्राणप्रतिष्ठान गर्ने कार्यक्रम रहेको छ । मूर्ति निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुको नाम र सहयोग रकमलाई मूर्तिसँगैको शिलालेखमा राख्ने तयारी भैरहेको पनि काफ्लेले जानकारी दिए ।

मूर्तिको निर्माण पनि लिखु गाउँपालिका वडा नं. ५ निवासी कालु पाण्डे (राम) ले निर्माण गरेका हुन् । सोहि बराबरको शिब मूर्ति निर्माण गर्दा झण्डै ५ देखी ६ लाख सम्म लाग्ने मूर्तिकार पाण्डेले बताए । तर आफ्नै गाउँमा मूर्ति निर्माण भएकोले मूर्ति निर्माणको लागि आवश्यक पर्ने सामाग्रीहरुको मात्र रकम लिएर आफूले मूर्ति निर्माण गरेको मूर्तिकार पाण्डेले बताए । मूर्ति निर्माणका लागि लागेको सामाग्रीको मूल्यमात्र आफूले लिएको उनले बताए । अन्य ठाँउमा मूर्ति निर्माण गर्नुपर्दा आफूहरुको श्रमका ज्यालापनि थपिने उनले बताए ।

मूर्ति निर्माणका लागि लिखु गाउँपालिकाको कार्यालयको बजेट तथा वडा कार्यालयको बजेट भने यहाँ खर्च भएको छैन । मूर्ति निर्माणका लागि गाउँपालिका र वडाको बजेट खर्च नभएको भएपनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षm वडाअध्यक्ष ज्यूहरुले भने व्यक्तिगत रुपमा आफूले सकेको आर्थिक सहयोग गर्नुभएको अगुवा युवा काफ्लेले जानकारी दिए ।