नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मानेभञ्ज्याङ्गमा शिक्षकका लागि मनोसामाजिक परामर्श तालिम

ओखलढुङ्गान्युज, फागुन २१ जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा शिक्षकहरुका लागि विद्यार्थी मनोसामाजिक परामर्श तालिम सुरु भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिकाका शिक्षकहरुका लागि लक्षित गरेर विद्यार्थी मनोसामाजिक परामर्श तालिम आईतबारबाट सुरु भएको हो ।

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक निर्देशिकामा शिक्षकहरुलाई विद्यार्थी मनोसामाजिक परामर्श तालिम सञ्चालन गर्नुपर्ने उल्लेद छ । सोहि उद्देश्य प्राप्तीका लागि मानेभञ्ज्याङ्ग गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरे तालिमको आयोजना गरेको हो । तालिममा मानेभञ्ज्याङ्ग गाउँपालिकाका ८ ओटा माद्यमिक विद्यालयका प्रत्येक विद्यालयवाट १ शिक्षक र १ शिक्षिका गरि १६ जना शिक्षक शिक्षिका सहभागी रहेका छन् ।

आईतबारबाट सुरु भएर विहिबार सम्म सञ्चालन हुने तालिममा सिएमसी नेपालले प्राविधिक सहयोग गरिरहेको छ । तालिममा सिएमसी नेपालका मानसिक स्वास्थ्य कार्यक्रम संयोजक सिनियर साईकोलोजिष्ट विष्णु प्रजापती र मनोपरामर्शकर्ता कोपिला बस्नेतले सहजीकरण गरिरहेका छन् ।

तालिम कार्यक्रमको मानेभञ्ज्याङ्ग गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईले उद्घाटन गरेका थिए । तालिम कार्यक्रमको उद्घाटन गर्दै राईले माथिल्लो कक्षामा पुगेपछि बालबालिकाहरुलाई मनोसामाजिक परामर्शको आवश्यकता पर्ने महशुस गर्दै तालिमको आयोजना गरिएको बताए । तालिम पश्चात शिक्षकहरुले आ–आफ्नो विद्यालयमा गएर बालबालिकाको अवस्थालाई मध्यनजर गरी मनोसामाजिक परामर्श प्रदान गरी विद्यार्थीको शैक्षणीक गुणस्तर बृद्धि गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।