नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखुको नर्मदेश्वरमा मेलमिलाप कर्ताको सम्पर्क कार्यालय स्थापना

ओखलढुङ्गान्युज, फागुन १८ । जिल्लाको लिखु गाउँपालिकाको वडा नं. ३ नर्मदेश्वरमा सूचिकृत मेलमिलाप कर्ताको सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको ओखलढुङ्गाका जिल्ला न्यायाधीश गिरिराज गौतमले उद्घाटन गर्नुभएको हो ।

नयाँ जिल्ला न्यायाधीशको रुपमा ओखलढुङ्गा आइपुग्नु भएका माननिय जिल्ला न्यायाधीश गौतम लिखु गाउँपालिकाको कार्यालय र गाउँ पालिकाको न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको अबस्था बुझ्न लिखु गाउँपालिका आइपुग्नु भएको हो । माननिय जिल्ला न्यायाधीश गाउँपालिका आइपुगेको अबसर पारेर नर्मदेश्वरमा सूचिकृत मेलमिलाप कर्ताको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

गाउँ पालिकाको न्यायिक समितिले गाउँपालिका भित्र रहेको विभिन्न वडाका विभिन्न विषयमा परेका उजुरीको बारेमा अध्ययन र दुवै पक्षलाई राखेर छलफल गराउने गर्दछ । छलफल पश्चात कतिपय मुद्दालाई पालिकाको न्यायीक समितीमा नै र कतिपय मुद्दालाई भने मेलमिलापको लागि वडामा सुचिकृत भएका मेलमिलाप कर्ताकोमा पठाउने गर्दछ । वडा वा पालिकामा नै मेलमिलापको माध्यमबाट नटुङ्गिने मुद्दाहरुलाई भने जिल्ला अदालतमा जान सिफारिस समेत गर्दछ । 

वडामा सुचिकृत मेलमिलाप कर्ता हुँदा र गाउँपालिकामा न्यायीक छानविन समिति हुँदा ग्रामिण भेगका नागरिकहरुको सानो सानो विषयमा उत्पन्न भएको विवादलाई गाउँमा नै हल गर्न सजिलो भएको छ । जसका कारण नागरिकहरुले न्याय पाएको अनुभूति गर्दछन् भने उनीहरुको मुद्दा मामिलाको झन्झटमा हुने लाखौंको नगद क्षति तथा समयको क्षतिलाई रोकाउन सहज हुने गरेको छ ।

सम्पर्क कार्यालयको स्थापना कार्यक्रममा माननिय जिल्ला न्यायाधीश गौतमका साथै लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा, वडा नं. ३ नर्मदेश्वरका वडा अध्यक्ष सोकर्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पालिकाको प्रत्येक वडामा कम्तीमा ३ जना मेलमिलाप कर्ता हुने पालिकाको न्यायिक समितिको कार्यबिधि अनुसार नर्मदेश्वरमा पनि तीनजना सुचिकृत मेलमिलाप कर्ताहरु रहेका छन् ।