नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गाः राष्ट्रपति रनिङशिल्ड सुरु, मानेभञ्ज्याङ्गलाई ४ स्वर्ण सहित अग्रता

ओखलढुङ्गान्युज, फागुन ११ शुक्रबार (आज) बाट ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा रहेको रुम्जाटार माद्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

आजबाट सुरुवात भएको जिल्ला स्तरीय प्रतियोगितामा ओखलढुङ्गा जिल्लाको आठओटै स्थानीय तहहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता सुरुवात भएको पहिलो दिन १ सय मिटर, ४ सय मिटिर, १५ सय मिटर, सटपुट र लङजम्प तर्फका खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न भएका खेलहरुबाट मानेभञ्ज्याङ्ग गाउँपालिकाले चार स्वर्ण सहित अग्रता लिएको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिकाले ४ स्वर्ण, २ रजत र २ कास्य सहित कूल ८ पदकका साथ पहिलो दिन अग्रता लिएको छ । पहिलो दिनको खेलमा सिद्धिचरण नगरपालिका २ स्वर्ण, ३ रजत र १ कास्य सहित ६ पदकका साथ दोश्रो स्थानमा रहेको छ । त्यस्तै खिजिदेम्बा गाउँपालिका १ स्वर्ण, १ रजत र ४ कास्य सहित तेश्रो स्थानमा रहेको छ ।

त्यसैगरि पहिलो दिनको खेल सकिदा लिखु गाउँपालिका र चिशंखुगढी गाउँपालिकाले समान १/१ स्वर्ण र १/१ कास्य प्राप्त गरेका छन् । उता मोलुङ गाउँपालिकाले पनि १ स्वर्ण, सुनकोशी गाउँपालिकाले ४ रजत र १ कास्य पदक प्राप्त गरेको छ । पहिलो दिनको खेलमा चम्पादेवी गाउँपालिकाले भने पदक प्राप्तीको खाता खोल्न सकेको छैन ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन छात्र तर्फको भलिबल खेल सुरु भएपनि लाइटको समस्याका कारण खेल रोकिएको छ । पहिलो दिनको पहिलो खेल लिखु गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिका बिच भएको थियो । खेलको पहिलो सेट २३–२५ ले लिखुले जितेको थियो । अब बाँकी सबै प्रतियोगिता शनिवार विहान ७ बजेबाट हुने जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका कार्यालय प्रमुख बाल कुमार खनालले जानकारी दिए ।