नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

रुम्जाटारमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुदको सबै तयारी पुरा

ओखलढुङ्गान्युज, फागुन १० फागुन ११ अर्थात भोली देखी हुने ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । जिल्ला स्तरीय प्रतियोगिता यसपटक रुम्जाटारमा हुनेगरि सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकूद विकास समिती ओखलढुङ्गाले जनाएको छ ।

अघिल्लो वर्ष जिल्लाका सबै स्थानीय तहले अन्तर माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगिता समयमा नै सम्पन्न गर्न सकेको थिएन । जसका कारण सबै स्थानीय तह जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएनन् । जिल्ला स्तरीय प्रतियोगितामा सबै स्थानीय तहलाई सहभागी गराउन नसकेको भन्ने आरोप खेपेको जिल्ला खेलकूदले यसपटक भने सबै स्थानीय तह सहभागी हुने जनाएको छ ।

गत वर्ष जिल्ला खेलकूद विकास समितीले पनि अलिक समयमा नै चासो नगर्दा केही स्थानीय तहहरुले गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड खेलकूद सञ्चालन गरेनन् । लिखु गाउँपालिकाले भने जिल्ला स्तरीय प्रतियोगिता सकिएपछि मात्रै पालिकामा राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगिता सञ्चालन गरेको थियो । जसका कारण लिखु गाउँपालिकाले बजेट सकाउन मात्र प्रतियोगिता सञ्चालन गरेको भन्ने आरोप खेपेको थियो ।

जिल्ला स्तरीय प्रतियोगिता प्राय सधैजसो जिल्ला सदरमुकाममा नै हुने गरेकोमा यसपटक भने जिल्ला सदरमुकामबाट केहि बाहिर रहेको रुम्जाटार मावि रुम्जाटारको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुदैछ । जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माविले त्यती चासो पनि नगरेको र रुम्जाटार माविले व्यस्थापनको पाटाको सबै जिम्मेवारी ग्रहण गरेकोलेपनि प्रतियोगिता रुम्जाटारमा गर्न लागिएको जिल्ला खेलकूद विकास समितीका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार जिल्ला स्तरीय प्रतियोगिता फागुन ११ गते देखी १४ गते सम्म रुम्जाटार माविको दुईओटा खेलमैदानमा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी सकिएको छ ।

प्रतियोगिता अन्तर्गतका विभिन्न विधाहरुको प्रत्यक्ष प्रसारण ओखलढुङ्गान्युज डटकमको फेशबुक पेजबाट समेत हुनेछ ।