नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

मोलुङमा स्कार्पियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ५ गम्भिर घाइते 

ओखलढुङ्गान्युज, फागुन ३ । जिल्लाको मोलुङ गाउँपालिकाको प्राप्चामा विहिवार अपरान्ह स्कारपियो गाडी दुर्घटना भएको छ । स्कारपियो गाडी दुर्घटना हुँदा मोरङ जिल्लाको पथरी नगरपालिकाका अन्दाजी वर्ष २५ का स्कारपियो चालक गणेश रसाईलीको घटनास्थलमा नै मृत्यु भएको हो ।

विहिवार दिउँसो १ बजेतिर मोलुङ हाइड्रो पावर लिमिटेडका कर्मचारी बोकेको बा २० च ४८६२ नम्बरको स्कार्पीयो गाडी ट्रनिङ काट्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते सबैको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते हुनेहरुमा तेह्रथुम जिल्ला मन्छ्यायेम गाउँपालिका वडा नं. ५ का अन्दाजी वर्ष ३२ का यज्ञ प्रसाद निरौला, भक्तपुरको सल्लाघारी बस्ने बर्ष ३८ को मित्रलाल भुर्तेल रहेका छन् । त्यस्तै सिन्धुली जिल्लाका अन्दाजी वर्ष ४५ को सन्देश कार्की, सुनसरी जिल्लाको रामधुनी नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ३२ का अर्जुन दाहाल र ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष ४० का कुमार कार्की रहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

गम्भिर घाइते भएका मध्ये मित्रलाल भुर्तेल, सन्देश कार्की, कुमार कार्कीलाइ उपचारका लागि फिष्टेल एयरको हेलिकप्टरद्वारा काठमाण्डौं स्थित हेम्स अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । त्यस्तै बाँकी दुइजनालाइ पनि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

विहिवार दिउँसो मोलुङ गाउँपालिकाको वडा नं. ५ ओखरबोट स्थित भित्री सडक खण्डमा प्राप्चाबाट खोलाखर्क तर्फ मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जादै गरेको स्कारपियो सडकबाट करीब १ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक केसीले जानकारीदिए ।