नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

भिजन आईडल सिजन ४ को उपाधी खोटाङका विकासलाई

ओखलढुङ्गान्युज, फागुन ३ । भिजन आईडल सिजन ४ को उपाधी खोटाङका विकास राईले हात पारेका छन् । फागुन २ गते साँझ सम्पन्न भएको फाईनलमा १ सय ५१ जना प्रतिष्पर्धीलाई पछि पार्दै खोटाङको खोटेहाङ गाउँपालिकाका विकास राईले हात पारेका हुन् ।

भिजन आईडल सिजन ४ को उपाधी जित्दै राईले नगद रु ३० हजार ३ सय ३३ सहित ट्रफि र प्रमाणपत्र पाए । त्यस्तै खोटाङ कै हलेसी तुवाचुङ नगरपालिकाका रमेश सेञ्चुरी फस्ट रनरअप बन्न सफल भए । फस्ट रनरअप बन्दै सेञ्चुरीले नगद रु १५ हजार ५ सय ५५ का साथमा ट्रफि र प्रमाणपत्र हात पारे ।

त्यसैगरि ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाका मानस राई र सुनकोशी गाउँपालिकाका पासाङ तामाङ सेमीफाईनलिस्ट बन्दै ट्रफि र प्रमाणपत्रका साथमा जनही नगद रु ५ हजार ५ सय ५५ हात पारे । विजेता तथा सेमिफाईनलिष्टहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दिपक पाण्डेले ट्रफि, नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

रेडियोको बार्षिकोत्सबको अबसर पारेर सञ्चालन भएको गायन प्रतियागितामा डिजीटल अडिसनमा १५१ जनाले भाग लिएको भिजन एफएमका सचिव एस वि राईले जानकारी दिए । डिजिटल अडिसनबाट छनौट भएका ४० जना प्रतिष्पर्धीहरुको विचमा माघ २९ गते पहिलो लाईभ अडिसन सञ्चालन गरिएको थियो । पहिलो लाईभ अडिसनबाट दोश्रो लाईभ अडिसनका लागि १८ जना छनौट भएका थिए । त्यस्तै दोश्रो दिन फागुन १ गते भएको दोश्रो लाईभ अडिसनबाट १० जना छनौट भएका थिए । छनौट भएका १० जनाले रेडियोको बार्षिकोत्सवको अवसरमा आयोजित फागुन २ को कार्यक्रममा फाइृनल प्रतिष्पर्धा गरेका थिए ।

भिजन एफएम ओखलढुङ्गाले आफ्नो बार्षिकोत्सवको अबसरमा आयोजना गरेको प्रतिभाको खोजी अन्तर्गत भिजन आईडल सञ्चालन गरेको हो । एफएमले आफ्नो बार्षिकोत्सबको अबसर पारेर प्रत्येक वर्ष फागुन २ गते गायन प्रतियोगिता तथा साउन २ गते नृत्य प्रतियागिता सञ्चालन गर्दै आएको छ । बार्षिकोत्सबको अबसरमा पारेर भिजनले रेडियोमा कार्यरत रेडियो समाचार प्रमुख प्रविण मुनाल र रेडियो कार्यक्रम प्रमुख सरस्वती वानियालाई समेत सम्मानित गरेको छ ।