नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड फागुन ११ बाट

ओखलढुङ्गान्युज, फागुन ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन ११ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको मंगलबार बसेको बैठकले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता फागुन ११ बाट गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सिद्धिचरण नगरपालिका वडा नं. ४ मा रहेको रुम्जाटार मावि रुम्जाटारमा सञ्चालन गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए । शोमबारको बैठकले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालनका लागि ब्यबस्थापनको जिम्मा रुम्जाटार माविले गर्ने भएपछि प्रतियोगिता रुम्जाटारमा गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनको निर्णय गर्नपूर्व विगत वर्षको तुलनामा यस वर्ष भने जिल्लाका आठओटै स्थानीय तहमा समयमै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । जिल्ला स्तरीय प्रतियोगिता सकिनासाथ फागुनको अन्तिम हप्ता तिर प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हुने तयारी रहेको छ ।