नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ज्यामिरेमा भलिबल प्रतियोगिता, विजेताले पाउनेछन् १ लाख १ हजार १११

ओखलढुङ्गान्युज, माघ २९ जिल्लाको सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरेमा आगामी फागुन ४ गते देखी अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सञ्चालन हुनेभएको छ । आज ओखलढुङ्गामा नेपथ्थे युवा समाजको तर्फवाट आयोजित पत्रकार सम्मेलनमा समाजका आर्थिक तथा व्यबस्थापन समितिका संयोजक धिरेन्द्र खड्काले आगामी फागनु ४ गते देखी ७ गते सम्म अन्तर गाउँपालिका स्तरिय भलिबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिएका हुन् ।

सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद रु १ लाख १ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता हुने टिमले नगद रु ५१ हजार १११ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत सेमिफाईनलमा प्रबेश गर्न सफल हुने दुई टिमले भने नगद रु २५ हजार १११ सहित प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलन समाजका उपाध्यक्ष अर्जुन खड्काले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न विधा अन्तर्गत सर्बोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट क्विक स्पाईकार, सर्वोत्कृष्ट ओपन स्पाईकर, सर्बोत्कृष्ट स्पाईकर तथा उत्कृष्ट ब्लकरलाई विशेष पुरस्कारको व्यबस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यस्तै क्वाटर फाईनलबाट भने प्रतियोगिताका म्यान अफ दी म्याचको घोषित गर्दै नगद सहित मायाको चिनो प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितामा १२ टिम भन्दा कम टिम सहभागी भएमा लिग कम नकआउटका आधारमा खेल सञ्चालन हुने तथा फागुन ३ सम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता शुल्क भने १० हजार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई अझ रोचक बनाउनका लागि १५ देखि २५ बर्ष उमेर समूहका युवा खेलाडीहरुलाई सहभागी गराउने गरि ३ हजार मिटरको दौड प्रतियोगिता राखिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । त्यस्तै भलिबल तथा दौड सँगै स्लो बाईक रेस प्रतियोगिताको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

३ हजार मिटर दौड प्रतियोगिता र स्लो बाईक रेस प्रतियोगिताका विजेताहरुले क्रमशः प्रथम हुनेले नगद रु ६ हजार १ सय ११, दोश्रो हुनेले ४ हजार १ सय ११ र तेश्रो हुनेले २ हजार १ सय ११ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।