नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आजबाट ओखलढुङ्गामा भिजन आईडल सिजन ४ को लाईभ अडिसन

ओखलढुङ्गान्युज, माघ २९ आजबाट ओखलढुङ्गामा भिजन एफएमले आयोजना गरेको भिजन आईडल सिजन ४ को लाईभ अडिसन सुरु हुदैछ । भिजन एफएमले आफ्नो स्थापना दिवसको अबसर पारेर आयोजना गरेको भिजन आईडल सिजन ४ को दोश्रो चरणको लाईभ अडिसन आजबाट सुरुहुन लागेको हो ।

आजबाट सुरुहुने लाईभ अडिसनका लागि केहिदिन अगाडी सम्पन्न भएको डिजिटल अडिसनबाट ४० जना छनौट भएका छन् । डिजिटल अडिसनका लागि ओखलढुङ्गा लगायत छिमेकी जिल्लाहरुबाट समेत १ सय ५१ जना प्रतिष्पर्धीले सहभागीता जनाएका थिए । सहभागी भएका प्रतिष्पर्धीहरुको डिजिटल अडिसनबाट ४० जना लाईभ अडिसनका लागि छनौट भएको भिजन एफएमका स्टेशन म्यानेजर तथा भिजन नेपालका उपाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

आज शोमबार साँझ ६ बजेबाट जिल्ला समन्वय समितिको सभाहलमा लाईभ अडिसन सञ्चालन हुनेछ । आज शोमबारको लाईभ अडिसनबाट छनौट भएका प्रतिष्पर्धीहरुले फागुन १ गते पुनः प्रतिष्पर्धा गर्नेछन् । फागुन १ गते भने प्रतिष्पर्धीहरु मध्येबाट ४ जना मात्र छनौट हुनेछन् । छनौट चारजना प्रतिष्पर्धीले भने रेडियोको बार्षिकोत्सवको अबसरमा फागुन २ गते हुने कार्यक्रममा प्रतिष्पर्धा गर्नेछन् ।

उनीहरु मध्ये १ जना आर्इडल, १ जना रनरअप र २ जना फाइनलिष्ट बन्ने भिजन नेपालका सचिव एसवि जेरो राईले बताए ।  ।सचिव राईका अनुसार आर्इडल विजेताले ३० हजार ३ सय ३३ रुपैया नगद र ट्रफि, रनरअपले १५ हजार ५ सय ५५ रुपैया नगद र ट्रफि तथा २ जना फाईनलिष्टले नगद ५ हजार ५ सय ५५ रुपैया नगद र ट्रफि प्राप्त गर्ने छन् ।

भिजन एफएमले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा एकल गायन प्रतियोगिता भिजन आइडल सञ्चालन गर्दै आएको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिदै एफएमले आफ्नो सातौ स्थापना दिवसको अबसर पारेर भिजन आइडल चौथो संस्करण सञ्चालन गरेको हो ।

ग्रामिण क्षेत्रका युवाहरुको प्रतिभा पहिचान गर्दै कला र संस्कृतिको विकास गर्ने उद्देश्य सहित यसपटक भने भिजन आइडलमा विजेता हुन एसएमएस जस्ता वैकल्पिक सर्त राखेको छैन । आईडल सञ्चालनका लागि अन्य निर्णायक नीति लिँदा उत्कृष्ट कला ओझेलमा पर्ने भएकाले भिजन आइडलमा सहभागीले यसपटक भने प्रतिस्पर्धा जित्न एसएमएस भोटिङको सहारा लिनुपर्ने छैन ।

भिजन एफएमको सातौं स्थापना दिवसका अवसरमा जिल्लाको विकास र समृद्धिका लागि सञ्चारको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया लगायतका कार्यक्रम समेत आयोजना गरिएको भिजन नेपालले जनाएको छ ।