नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

दुईदिने शिविरमा ओखलढुङ्गामा ६५ जना आँखाका विरामीको शल्यक्रिया

ओखलढुङ्गान्युज, माघ २८ ओखलढुङ्गामा शनिवार दुईदिने आँखा शिबिर सम्पन्न भएको छ । दुईदिने आँखा शिविरमा ६५ जना मोतिविन्दु विरामीको शल्यक्रिया गरिएको छ ।

शुक्रबार र शनिवार जिल्ला सामुदायीक आँखा केन्द्रमा सञ्चालन भएको आँखा शिविर कार्यक्रममा ६० जनाको एसआईसिएस अर्थात हाते प्रविधि र २ जनाको फ्याको अर्थाम मेसिन मार्फत शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र ओखलढुंगाका इन्चार्ज टिका राईले बताईन् । शल्यक्रिया गरिएका विरामी मध्ये ५ जनाको दुवै आँखाको र ३ जनाको आँखामा पलाएको मासुको शल्यक्रिया समेत गरिएको सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका ईञ्चार्ज राईले जानकारी दिईन् ।

यसपटक शल्यक्रिया गरेका विरामी मध्ये ६० जनाको निशुल्क र २ जनाको भने न्यूनतम शुल्क लिईएको पनि जिल्ला ईञ्चार्ज राईले बताईन् । हाते प्रबिधिबाट शल्यक्रिया गरिएकाहरुको निशुल्क गरिएको भएपनि मेशिनबाट शल्यक्रिया गरिएका विरामीबाट भने न्यूनतम शुल्क लिईएको हो । मेसिन मार्फत शल्यक्रिया गर्दा निकै खर्चिलो हुने भएकोले न्यूनतम शुल्क एक जना बराबर ८ हजार २ सय रुपैयाँ लिएको राईले बताईन् ।

जिल्लामा शल्यक्रिया शिबिर सञ्चालन गर्नुपूर्व सामुदायीक आँखा केन्द्रले चम्पादेवी, चिसंखुगढी, सुनकोशी र मोलुङ गरी ४ वटा गाउँपालिकाको ५ स्थानमा मोतिविन्दु छनोट शिविर सञ्चालन गरेको थियो । स्थानीय तहमा सञ्चालन गरेको  शिविरबाट छनौट भएका र केन्द्रको बहिरङ्ग विभागबाट छनोट भएका ६५ जनाको शल्यक्रिया गरिएको जिल्ला सामुदायीक आँखा केन्द्रले जनाएको छ ।