नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

कोशीमा मन्त्री परिषद विस्तार, नवनियुक्त मन्त्रीले लिए सपथ

ओखलढुङ्गान्युज, फागुन २७ शुक्रबारबाट कोशी प्रदेशको मन्त्री परिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार दोस्रो पटक मन्त्री परिषदको विस्तार गरेसँगै कोशी प्रदेशको मन्त्री परिषदले पूर्णता पाएको हो ।

शुक्रबार मुख्मन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप कुमार सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायण बहादुर बुर्जामगरलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले कांग्रेसका दुईजना सांसदलाई राज्यमन्त्री समेत नियुक्त गरेका छन् ।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीलाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भईसकेका छन् । शुक्रबार नयाँ मन्त्रीमण्डल विस्तार गरेसंगै कोशीको मन्त्रिपरिषद १० सदस्यीय भएको छ ।