नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाबाट कांग्रेसको महासमिति सदस्यमा सर्बसम्मत

ओखलढुङ्गान्युज, माघ २२ नेपाली कांग्रेस ओखलढुङ्गाले जिल्लाबाट प्रतिनिधीत्व गर्ने महासमिति सदस्यहरु सर्वसम्मत छानेको छ । पार्टीको विधान संशोधनसहित महत्वपूर्ण गतिविधिमा सहभागी हुने महासमिति सदस्य पदमा जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत नाम छनौट गरेको हो ।

खुला तर्फ ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पद रहेको छ । जसमा  खिलानाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर विक चयन भएको नेपाली कांग्रेस ओखलढुङ्गाले जारि गरेको अन्तिम नामावली प्रकाशनमा उल्लेख छ । जिल्ला पार्टी भित्र सहमतिको अधिकतम् प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यहरूको नामावली टुङ्ग्याएको ओखलढुङ्गा कांग्रेसले जनाएको छ ।

ओखलढुङ्गा कांग्रेसले महासमिति सदस्य पदमा सर्वसम्मत नाम सिफारिस गरेको बताएपनि कतिपय कांग्रेस कै नेताहरु रुष्ट बनेका छन् । दुई ओटा प्रदेश निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा महासमिति सदस्यमा अधिकांश १ नं. निर्वाचन क्षेत्रका मात्र रहेको भन्दै नेताहरु असन्तुष्ट बनेका हुन् । पार्टीले सर्बसम्मत नाम सिफारिस गरेको भन्दै गर्दा यसअघि पटक पटक महासमिति सदस्य बनेका र शीर्ष भनिएका नेताहरु महेश कोर्मोचा, रुद्र प्रसाद अधिकारी, अशोक कार्की, कुमार लुइँटेल लगायतका नेताहरुको नाम यस पटक महासमिति सदस्यमा अटाएका छैनन् ।

जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरेपनि महासमितिमा नाम नपरेका नेताहरु आफैले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका छन् । जिल्ला नेतृत्वले प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै महासमितिमा नपरेका नेता र उनीहरु पक्षधरले निर्णयको विरोध जनाएका हुन् । महासमिति छनोटले ओखलढुङ्गामा पनि केहिदिन अगाडीदेखी सुरु भएको समुदायमा कांग्रेस जागरण अभियान पनि प्रभावित बनेको छ । महासमिति सदस्यमा नाम नअटाएका नेताहरुलाई पनि कहिनकहि अटाउने गरि सम्बोधन हुने कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।