नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आजबाट कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सुरू

ओखलढुङ्गान्युज, माघ १५  आज (सोमबार)बाट कोशी प्रदेशका १० वर्ष मुनीका बालबालिकाको निशुल्क उपचार सुरुवात भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको उपस्थितीमा प्रदेश स्वास्थ्य मन्त्रालयले नोवेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालमा १० वर्ष मुनीका बालबालिकाको निशुल्क उपचार गर्ने सम्बन्धि सम्झौता गरेको थियो ।

सम्झौता अनुसार कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट आज (सोमबार) औपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । निशुल्क उपचार सेवा शुभारम्भ गर्दै सचिव देवकोटाले कोशी प्रदेशमा स्थायी बसोबास गर्ने नागरिकहरुले मात्र यो सेवा प्राप्त गर्ने जानकारी दिईन् । डा. देवकोटाका अनुसार निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै सबैभन्दा पहिला नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लैजानु पर्दछ । तर स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी तोकिएको अस्पतालमा उपचारका लागि आउनुपर्छ ।

निःशुल्क आकस्मिक सेवा (इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास कोशी प्रदेशमा नै भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले जानकारी दिईन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिम औषधी समेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको स्वास्थ्य मन्त्रालयका सचिव देवकोटाले जानकारी दिईन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना सार्वजनिक गरेका थिए । सोहि कार्यक्रमलाई प्रदेश सरकारले हाल कार्यान्वयन गर्न थालेको हो ।