नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

२. सहकारी ठगी प्रकरणः ककनी गौरीवनका कोषाध्यक्ष नेम्वाङ पक्राउ

ओखलढुङ्गान्युज, माघ १३ बचतकर्ताको रकम ठगी गरेको आरोपमा फरार रहेका ककनी गौरीवन सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष नेत्र बहादुर नेम्वाङ्ग नरेशलाई प्रहरीले पक्राउ गरेको छ । नेम्वाङलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पूर्जि जारी गरेपछि सम्पर्क विहिन भएका सहकारीका कोषाध्यक्ष नेम्वाङलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिई गएको प्रहरीको टोलीले शुक्रबार साँझ ६ बजे पक्राउ गरेको हो । उनलाई सिद्धिचरण नगरपालिकाको वडा नं. ६ जन्तरखानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

ककनी गौरीवन सहकारी संस्थाले आफूहरुको बचत रकम नदिएको तथा फिर्ता माग्दा सम्पर्क विहिन भएर आफुहरुलाई ठगी गरेको भन्दै गत मंशीर १५ गते सहकारीका करीब ५ दर्जन बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी कार्यालयमा उजुरी परेपछि सहकारीका प्रतिनिधीहरुलाई कार्यालयमा झिकाई छलफल भएर बचतकर्ताको बचत फिर्ता दिने सहमती भएको थियो ।

बचतकर्ताको रकम फिर्ता गर्ने भनेर कार्यालयबाट फर्किएका सहकारीको प्रतिनिधीहरु त्यसपछि भने सम्पर्क विहिन बनेका थिए । सहकारीको सञ्चालक समिति नै सम्पर्क विहिन बनेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले उनीहरुका विरुद्ध पक्राउ पूर्जि जारी गरेर खोजि कार्य गरेको थियो । सहकारीबाट बचतकर्तालाई ठगी गरेको आरोपमा फरार रहि अहिलेसम्म पक्राउ पर्नेहरुको संख्या तीन पुगेको छ ।

यस अगाडी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोलीले सहकारीका अध्यक्ष विनोद सुनुवार तथा उपाध्यक्ष पदम बहादुर खत्रीलाई पनि पक्राउ गरिसकेको छ । पक्राउ परेका तीनैजनालाई हिरासतमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।