नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

६ महिनामा सगरमाथा क्षेत्रमा २८ हजार बढी पर्यटक भित्रिए

ओखलढुङ्गान्युज, माघ १२ चालु आर्थिक वर्षको ६ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा २८ हजार बढी पर्यटक भित्रिएका छन् । गएको साउनदेखि पुससम्मको छ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा २८ हजार तीन सय ९० जनाले पर्यटकले भ्रमण गरेका हुन् ।

यो सङ्ख्या गत वर्षको साउनदेखि पुससम्मको तुलनामा १ हजार ४ सय ४१ जनाले धेरै हो । गएको आर्थिक वर्षको पहिलो छ महिनामा २६ हजार ९ सय ४९ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । यो वर्ष सगरमाथा क्षेत्रमा पुगेका पर्यटकहरु मध्ये ३ हजार ५ सय ८३ जना नेपाली रहेका छन् ।

पर्यटकहरुको आगमन बढेसँगै चालु आ.ब.को पहिलो ६ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जमा सङ्कलन भएको राजस्व झन्डै ११ प्रतिशतले बढेको छ । यस अबधीमा निकुञ्जले ६ करोड ९६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । निकुञ्जले सगरमाथा क्षेत्र घुम्ने विदेशीबाट प्रतिव्यक्ति ३ हजार, सार्क क्षेत्रका देशका व्यक्तिबाट १ हजार ५ सय र नेपालीसँग १ सय रुपैयाँ शुल्क लिने गरेको छ ।