नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

थारु संस्कृति सम्पत्ती हो, यसलाई कोशी सरकारले संरक्षण गर्छः मुख्यमन्त्री कार्की

ओखलढुङ्गान्युज, माघ १० थारु संस्कृति कोशी प्रदेशको ठूलो सम्पत्ती भएकोले यसलाई प्रदेश सरकारले संरक्षण गर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । थारु कल्याणकारी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले थारु संस्कृति माथि अतिक्रमण भैरहेको भन्दै यसलाई संरक्षण गरेर अन्तराष्ट्रियकरण गर्नु आवश्यक रहेको समेत बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘थारु संस्कृति प्रदेशको ठूलो सम्पत्ती हो । यस समुदायको घरका भित्तामा महिलाहरुले बताउने चित्र अझ ठूलो सम्पत्ती भएकाले यसलाई मासिन दिनुहुदैन ।’

थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होम स्टे बनाएर पर्यटकलाई आकर्षित गर्न सकिने मुख्यमन्त्री कार्कीको भनाई छ । होम स्टेमा आउने पाहुना पर्यटकलाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्रामथान लगायतका संस्कृतिको अध्ययन गराउदा थारू संस्कृति, प्रदेश र देशको गौरव बढ्नुका साथै रोजगारीको अबसर सृजना हुने समेत कार्कीको भनाई थियो ।

प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशी लगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको समेत मुख्यमन्त्री कार्कीले बताए ।