नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कोशी प्रदेशमा १० बर्ष मुनीका बालबालिकाको निशुल्क उपचार सुरु

ओखलढुङ्गान्युज, माघ १० कोशी प्रदेश सरकारले प्रदेश भरिका १० वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारको सुरुवात गरेको छ । आईतबार एक कार्यक्रमका विच मुख्यमन्त्री केदार कार्कीको उपस्थितीमा कोशी प्रदेशमा रहेको प्रदेश अस्पताल र चारओटा निजी अस्पतालसँग आईतबार सम्झौता गरेर बालबालिकाको निशुल्क उपभार सुरुवात भएको हो ।

कोशी प्रदेश सरकारले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाण्डौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थ दमक दमकसँग दुईपक्षीय सम्झौता गरेर निशुल्क उपचार सुरु गरेको हो । दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री कार्कीको विशेष उपस्थितीमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर सुधा देवकोटा, काठमाण्डौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डाक्टर भगवान कोईराला, नोबेल अस्पतालका निर्देशक डाक्टर राजेश नेपाल लगायतले हस्ताक्षर गरेका छन् ।

बच्चालाई अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जानुपर्ने अवस्था आईतबार देखी कोशी प्रदेशमा अन्त्य भएको मुख्यमन्त्री कार्कीले बताए । प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पताल बिचको सम्झौता कार्यक्रममा मुख्यमन्त्री कार्कीले बालबालिका विरामी भएपछि अस्पताल भर्ना गरेर ऋण खोज्न जाने , उपचार शुल्कमा छुट गराउन नेताहरुको घर धाउने र उपचारमा सबै सम्पत्ती सकाएर कात्रो पनि ऋणमा किन्नु पर्ने अबस्था कोशी प्रदेशमा अन्त्य भएको बताए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गर्न र उपचारका अभावमा कुनैपनि बालबालिकाको ज्यान जान नदिन सबै अस्ताल प्रमुखहरुलाई अनुरोध समेत गरे ।

मुख्यमन्त्री कार्कीेले प्रदेश भित्र रहेका निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकोले यसमा बालबालिकाको उपचारको लागि जुनसुकै सामाग्री विग्रीएको अबस्थामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अस्पतालहरुसँग सम्झौता गरेपनि निशुल्क उपचार प्रक्रियाको बारेमा भने केही खुलाइएको छैन ।

कोशी प्रदेशमा ५ वर्षमुनीका बालबालिकाको मृत्युदर प्रति १ हजारमा ३४ जना रहेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।