नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

राष्ट्रपति रनिङशिल्ड २०८० मा सगरमाथा जनता माविको बहिष्कार

ओखलढुङ्गान्युज, माघ ७ । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको माद्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० आज आइतबार समापन हुदैछ । जारि प्रतियोगितामा सिद्धिचरण नगरपालिका वडा नं. १२ मा रहेको सगरमाथा जनता माविले प्रतियोगिता बहिष्कार गरेको छ ।

शनिवार पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै सगरमाथा जनता माविले सिद्धिचरण नगरपालिकाले आयोजना गरेको अन्तर माद्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० को कुनै पनि विधामा सहभागीता नजनाउने भन्दै बाहिरीएको हो । प्रतियोगिताको दोश्रो दिन भएको ४*१०० रिले दौडमा प्रथम भएको आफ्नो माविको शिल्ड खोसेर आयोजक रुम्जाटार माविलाई दिएकोमा असन्तुष्टि जनाउँदै प्रतियोगिता अन्तर्गतका सबै खेलहरुबाट सगरमाथा जनता मावि बाहिरिएको विद्यालयका प्रधानाध्यापक डिल्ली कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

सगरमाथा जनता माविले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ “सयौं दर्शकहरुको उपस्थितीमा माघ ५ गते सम्पन्न भएको ४*१०० छात्रा रिले दौडमा सहभागी सगरमाथा जनता माविका विद्यार्थी सहभागी भइ प्रथम भएर दर्शकहरुले बधाइ प्रदान गरेको अबस्थामा निर्णायकहरुले तत्काल निर्णय दिनु पर्ने अबस्थामा सो दिन निर्णय नदिइ शनिबार विहान एक्कासी हाम्रो विद्यार्थीलाई अयोग्य घोषित गर्दै हाम्रो विद्यालयले पाएको ४ स्वर्ण खोसेर दोस्रो भएको रुम्जाटार माविलाई दिने निर्णय भयो । अघिल्लो दिनका खेलहरुमा पनि विभेदपूर्ण, धाँदली र अन्यायपूर्ण तरिकाले निर्णय भएकोले विद्यालय र विद्यार्थीको अपमान भएकोले उनीहरुको भावनामा गम्भीर चोट पुगेको तथा आगामी दिनमा समेत निष्पक्ष निर्णय नहुने ठहर गर्दै बाँकी खेलमा सहभागि नहुने जानकारी गराउदछौं ।”

विवाद भएको रिले दौडका विषयमा निर्णायकहरुको सामुहिक छलफल पश्चात निर्णय भएकोले सो निर्णय नै अन्तिम निर्णय भएको आयोजकले जनाएको छ । सगरमाथा जनता माविले बाँकी खेल नखेले पनि यस अगाडीका इभेन्टमा पाएको पदक विद्यालय तथा खेलाडीको नाममा नै गणना हुने जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका प्रमुख बालकुमार खनालले जानकारी दिए । सगरमाथा जनता माविले कबड्डी तथा भलिबल विधा तर्फका खेलमा आफ्ना विद्यार्थीलाई सहभागी नगराउदा खेलकुद विधामा सम्भावना भएका विद्यार्थीले खेल खेल्ने अबसरबाट भने वञ्चित भएका छन् । 

सगरमाथा जनता माविको उक्त निर्णयलाई सरोकारवाला तथा खेल क्षेत्रका विज्ञहरुले भने आत्माघाती भएको बताएका छन् । खेल क्षेत्रबाट आफुलाई अगाडी बढाउने विद्यार्थीहरुको अबसरमा विद्यालय बाधक बनेको सरोकारवालाहरुले बताएका छन् ।