नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सिद्धिचरण नगरपालिका राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा लालिगुराँसलाई अग्रता

ओखलढुङ्गान्युज, माघ ५ । विहिबार ओखलढुङ्गाको रुम्जाटारमा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० को भव्य समारोहका साथ उद्घाटन गरिएको छ । कोशी प्रदेशका पुर्व खानेपानी तथा सिंचाई मन्त्री एवम् प्रदेश सांसद प्रदिप कुमार सुनुवाले कार्यक्रमको समुद्घाटन गरेका हुन ।

नगरपालिका भित्रको १८ मावि सहभागी भएको प्रतियोगिता सुरु भएको पहिलो दिन तेक्वान्दो कराँतेका खेल सकिएका छन् । तेक्वान्दो र कराँतेका खेल सकिँदा लालिगुराँस इङ्लिस बोर्डिङ स्कुलले ७ स्वर्ण, ४ रजत १ कास्य गरि कूल १२ पदकका साथ अग्रता लिएको छ ।

त्यस्तै सगरमाथा जनता मावि सिनपा १२ ले ५ स्वर्ण, ५ रजत सहित कूल १० पदक, जाल्पा मावि सिनपा ११ ले ३ स्वर्ण, १ रजत रजत सहित कुल ४ पदक तथा आयोजक रुम्जाटार मावि सिनपा ४ ले २ स्वर्ण, ३ रजत २ कास्य सहित कूल ७ पदक प्राप्त गरेको छ ।

जिल्लामा पहिलोपटक इन्टरनेशनल निर्णायकहरुको सहभागितामा नगरपालिकाको गेम तीन भिन्नाभिन्नै खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । हाइजम्प, लङ्जम्प, सटपुट, ज्याभलिङ थ्रो र रनिङ खेलहरु रुम्जाटार माविको नयाँ खेलमैदानमा सञ्चालन भइरहेको छ । त्यस्तै तेक्वान्दो, कराँते र कबड्डीका खेलहरु भने माविको पुरानै ग्राउन्ड तथा भलिबलको खेलहरु माविको प्राविधिक शिक्षालय भवनको खेलमैदानमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताका अन्यखेलहरु निरन्तर चलिरहेको बेला विहिवार सुरु भएको भलिबल तर्फको खेल भने प्राविधिक कारणले स्थकित भएको छ । विहिवार रोकिएका भलिबल तर्फको खेलहरु शुक्रबार विहान ८ बजेबाट नियमित रुपमा सुरु हुने जिल्ला खेलकुद बिकास समिती ओखलढुङ्गाका कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिए ।