नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सिद्धिचरण नगरपालिकाको राष्ट्रपति रनिङशिल्डको भव्य तयारी

ओखलढुङ्गान्युज, माघ जिल्लाको सिद्धिचरण नगरपालिका अन्तर माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरुवात हुदैछ । नगरपालिकाको वडा नं. ४ रुम्जाटारमा रहेको रुम्जाटार मावि रुम्जाटारको खेल मैदानमा प्रतियोगिता आजबाट सुरुवात हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटनका लागि नगरपालिकाको शिक्षा शाखा र रुम्जाटार मावि रुम्जाटारले भव्य तयारी गरेको छ । प्रतियोगितामा सिद्धिचरण नगरपालिकामा रहेका १८ ओटा माद्यमिक विद्यालयहरुले सहभागीता जनाएका छन् । प्रतियोगिता माघ ६ गते सम्म सञ्चालन हुनेछ ।

विगत लामो समय देखि जिल्ला सदरमुकाममा केन्द्रित हुदै आएको नगरपालिकाको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता यस पटक भने रुम्जाटार सारिएको छ । राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको खेल सञ्चालन सम्बन्धि कार्यबिधी अनुसार रुम्जाटारमा समेत उपयुक्त खेल मैदान भएकोले रुम्जाटार मावि रुम्जाटारलाई आयोजक बनाएर रुम्जाटारमा नै यसपटकको प्रतियोगिता सञ्चालन गर्न लागिएको सिद्धिचरण नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख फणिन्द्र कटवालले जानकारी दिए ।

नेपाल सरकारको खेलकुद परिषद अन्तर्गत कबड्डीको चिफ कोच समेत रहनुभएकी कबड्डीको अन्तराष्ट्रिय निर्णायक पार्वती राई सहित प्रतियोगिता सञ्चालनका लागि झण्डै ३ दर्जन निर्णायकहरु फिल्डमा रहेका छन् । राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको आयोजक माग अनुसार प्रतियोगितालाई सब्य र भब्य बनाउनका लागि यति धेरै निर्णायकहरु सहभागी भएका हुन् । जज र जुरी बस्न सिनियर निर्णायकहरु नै रहनुपर्ने भएकोले प्रतियोगितामा अन्तराष्ट्रिय र राष्ट्रिय निर्णायकहरुलाई प्रतियोगितामा निर्णायकको रुपमा उपस्थित गराईएको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिए ।