नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

आज माघे सङ्क्रान्ती अर्थात घिउ, चाकु खाने दिन

ओखलढुङ्गान्युज, माघ १ । आज माघे सङ्क्रान्ती पर्व । नेपालीले मनाउने पर्वहरूमध्ये यो एक पर्व हो । आजको दिनलाई मकर सङ्क्रान्ती अर्थात माघी पर्व पनि भनिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ती भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ती भनिएको हो ।

आज देखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ। तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ।

माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।