नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मानेभञ्ज्याङ अध्यक्ष कप फुटबलको उपाधिसँगै माङ्सेबुङले जित्यो नगद ५ लाख

ओखलढुङ्गान्युज, पुष २७ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तरप्रदेश स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ । उपाधिसँगै माङ्सेबुङले नगद ५ लाख सहित २.५ तोला सुन र २ सय तोला चाँदीको शिल्ड प्राप्त गरेको छ ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा ओखलढुङ्गाको आयोजक मानेभञ्ज्याङ गाउँपालिकालाई २-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । माङसेबुङसँग पराजित भएको आयोजक मानेभञ्ज्याङले पनि नगद रु ३ लाख प्राप्त गरेको छ । आफ्नो सेमिफाइनल खेलमा माङ्सेबुङ इलामले सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र मानेभञ्ज्याङ ओखलढुङ्गाले लालिगुराँस नगरपालिका तेह्रथुमलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलिष्ट बन्दै लालिगुराँस नगरपालिका र सिद्धिचरण नगरपालिकाले पनि १-१ लाख प्राप्त गरेको छ ।

प्रतियोगितामा माङ्सेबुङ इलामका प्रविन साम्पाङ प्लेयर अफ दि म्याच घोषित हुदै ट्रफि र नगद रु ५ हजार जित्न सफल भए । त्यस्तै मानेभञ्ज्याङका गोलकिपर चन्द्रसुन्दर श्रेष्ठले उदयमान खेलाडी घोषित हुँदै नगद रु ७ हजार सहित ट्रफि हात पारे । माङ्सेबुङ कै आयुष योङ्हाङ उत्कृष्ट गोल रक्षक बन्न सफल भए । उत्कृष्ट गोल रक्षक बन्दै योङ्हाङले नगद रु १० हजार सहित ट्रफि पाए । 

त्यसैगरि माङ्सेबुङका एलन लिम्बु सर्बाधिक गोलकर्ता बन्न सफल बने । सर्बाधिक गोलकर्ता बन्दै लिम्बुले नगद रु १० हजार प्राप्त गरे । प्रतियोगिता अबधिमा मानेभञ्ज्याङ गाउँपालिकाका टीम क्याप्टेन राजु राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी घोषित हुदै राईले नगद रु १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका बिजेताहरुलाई समापन सत्रका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, संविधान सभा सदस्य एवम् ओखलढुङ्गाबाट निर्वाचित पुर्व संघीय माननिय यज्ञराज सुनुवार, राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला), मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली लगायत अतिथीहरुले नगद पुरस्कार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुष १८ देखि मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ३ उँवुको ब्ओकुला खेलमैदानमा सुरु भएको फुटबल प्रतियोगिताको आज समापन भएको हो । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका १८ टीमले सहभागिता जनाएका थिए ।