नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आयोजक मानेभञ्ज्याङ र इलामको माङसेबुङ फाइनल प्रवेश

ओखलढुङ्गान्युज, पुष २५ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ उँबुमा रहेको ब्ओकुलामा जारी अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक मानेभञ्ज्याङ गाउँपालिका र इलामको माङसेबुङ गाउँपालिका फाइनलमा प्रबेश गरेको छ ।

आयोजक मानेभञ्ज्याङले तेह्रथुमको लालिगुराँस नगरपालिकालाई २-० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । आयोजक मानेभञ्ज्याङका लागि दुवै गोल दोश्रो हाफमा भएको हो । पहिलो हाफ ०-० मा रोकिएको खेलको दोश्रो हाफमा आयोजक मानेभञ्ज्याङका जर्सी नं. १० का टीम क्याप्टेन राजु राई र जर्सी नं. ८ का अर्विन राईले गोल गर्दै मानेभञ्ज्याङ गाउँपालिकालाई फाइनलमा पुर्याएका हुन् । 

प्रतियोगितामा लालिगुराँस नगरपालिकाले पनि निक्कै सुन्दर अबसर प्राप्त गरेको थियो । आफुले पाएको गोल गर्ने सुन्दर अबसरबाट चुक्दा लालिगुराँस नगरपालिका सेमिफाइनलमा नै रोकिएको हो । प्रतियोगितामा मानेभञ्ज्याङ गाउँपालिकाका टीम क्याप्टेन राजु राई म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका राईले नगद रु पाँच हजार प्राप्त गरे । 

त्यस्तै आज भएको दोश्रो सेमिफाइनल खेलमा सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई पेनाल्टीमा पराजित गर्दै माङसेबुङ गाउँपालिका इलामले पनि फाइनलको यात्रा तय गरेको हो । सिद्धिचरण नगरपालिकालाई पराजित गर्दै माङ्सेबुङले फाइनलमा आयोजक मानेभञ्ज्याङसँगको भेटलाई पक्का गरेको हो ।

सेमिफाइनलका लागि तोकिएको समयभित्र दुवै तर्फबाट कुनै पनि गोल नभएपछि निर्णय पेनाल्टीमा धकेलिएको थियो । निर्धारित समयमा सिद्धिचरण नगरपालिका र माङसेबुङ गाउँपालिकाले निकै नै सुन्दर अबसर प्राप्त गरेका थिए । ति अबसरलाई दुवै टीमले सदुपयोग गर्न सकेनन् । खेलको अन्तिम समयमा सिद्धिचरण नगरपालिकाका लागि जर्सी नं. ५ खेलाडीले प्रहार गरेको बल पोष्टको बारमा लागेर फर्कीएपछि खेलको निर्णय पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टीमा पनि माङ्सेवुङका खेलाडीले लगातार ५ गोल गरे । तर सिद्धिचरण नगरपालिकाका लागि चौंथो नम्बरमा रहेर पेनाल्टी प्रहार गर्न गएका खेलाडीले गरेको प्रहार पोष्टको माथिल्लो बारमा लागेर फर्कीए पछि माङसेबुङ विजयी हुदै फाइनलमा पुगेको हो । 

दोश्रो सेमिफाइनल खेलमा माङ्सेबुङका जर्सी नं. ११ का प्रविन साम्पाङ म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका साम्पाङले नगद रु पाँच हजार प्राप्त गरे । अब फाइनल खेल पुष २७ गते दिउँसो हुने आयोजक समितिका आर्थिक विभाग प्रमुख एवम् मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामकुमार राईले जानकारी दिए ।